काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)का लागि लिखित र प्रयोगात्मक परीक्षा थप कडाइ गर्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०८२’ ल्याउँदै लाइसेन्सको प्रयोगात्मक परीक्षा (ट्रायल)का व्यवस्था परिवर्तन गर्न लागेको हो ।
मन्त्रालयले तयार पारेको ऐनको मस्यौदा अनुसार लिखितमा हालकै व्यवस्थालाई निरन्तरता दिइए पनि ट्रायलमा भने नयाँ व्यवस्था प्रस्ताव गरिएको हो ।
प्रस्तावित व्यवस्था अनुसार अब ट्रायल दिँदा परीक्षार्थीले कच्ची तथा चिप्लो बाटोमा सवारी साधन चलाउनु पर्नेछ । हाल परीक्षार्थीले ट्रायल सेन्टर भित्र मात्रै गाडी चलाए पुग्छ । कच्ची तथा चिप्लो बाटोमा सवारी चलाउनु पर्दैन । विश्वका अधिकांश देशमा भने ट्रायल दिँदा विभिन्न किसिमका सडकमै सवारी चलाउनुपर्ने व्यवस्था छ ।
ट्रायल सेन्टर भित्रै मात्रै सवारी चलाएर उत्तिर्ण भएकाहरूले कच्ची तथा अफ्ठेरो सडकमा सहजै सवारी चलाउन नसकेको देखिन्छ । त्यसलाई मध्येनजर गर्दै अब कच्ची र चिप्लो बाटोमा पनि सवारी चलाएर उत्तिर्ण भएपछि मात्रै लाइसेन्स दिइने व्यवस्था गर्न लागिएको हो ।
त्यस्तै, ट्रायल दिँदा घुमाउरो, उकालो तथा ओरालो बाटोमा सवारी साधन चलाउन सक्ने क्षमता जाँच गरिने छ ।
त्यसैगरी, सवारी साधनलाई अगाडि र पछाडि सुरक्षित रुपमा सार्न सक्ने क्षमता, निर्धारित लेनमा सवारी साधन सुरक्षित साथ चलाउन सक्ने र निर्धारित स्थानमा पार्किङ गर्न सक्ने क्षमता समेत जाँच गरिने छ । यी जाँच अहिले पनि गरिन्छ ।
लिखित परीक्षामा भने सवारी तथा यातायात सम्बन्धी कानुन, ट्राफिक सङ्केत र सवारी साधनको यान्त्रिक ज्ञान सम्बन्धी सामान्य जानकारी सम्बन्धी प्रश्नहरू सोधिने छ । हाल पनि यस्तै गर्ने गरिएको छ । लिखित परीक्षा उत्तिर्ण हुने परीक्षार्थीले मात्रै ट्रायल दिन पाउने छन् ।

