गल्छी-त्रिशूली-मैलुङ सडकका अतिक्रमित संरचना भत्काउन सुरू

काठमाडौं । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक अन्तर्गत गल्छी-त्रिशूली-मैलुङ सडकको अतिक्रमित संरचना हटाउन सुरू गरिएको छ ।

यस सडकको दाँयाबाँया १५-१५ मिटरभित्र पर्ने घरटहरासहित भौतिक संरचना हटाउन सुरू गरिएको हो ।यसअघि अक्रमित संरचना हटाउन पटक पटक सूचना जारी गरिए पनि स्थानीयले अटर गर्दै आएका थिए  ।

गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी योजना कार्यालयका प्रमुख कृष्णराज ओझाले सडक पहुँचभित्रका संरचनाको नियम अनुसार क्षतिपूर्ति लिएर पनि नहटाइएका संरचना भत्काउन थालिएको बताए ।

विदुर नगरपालिकाको सहयोगमा शनिबारदेखि जिल्लाको मुख्य बजार क्षेत्रमा पर्ने ढुङ्गे, विदुर, बट्टारका अतिक्रमति संरचना भत्काउन थालिएको उनले बताए ।

आयोजनाका अनुसार मुआब्जा तथा क्षतिपूर्ति लिएर नभत्काएका संरचनाहरुमा ८६ वटा व्यक्तिगत घरटहरा छन् । त्यस्तै, १ दर्जन सरकारी कार्यालय तथा संघसंस्थाका रहेका छन् ।

सोमबारसम्म जिल्लाभित्रका संरचना भत्काइसक्ने लक्ष्य रहेको उनले बताए ।  ‘सडक पहुँच क्षेत्रका संरचना खाली नहुँदा अन्तरराष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको सडकको का रोकिएको छ । केही दिनभित्रै ‘साइट क्लियर’ गरेर निर्माण व्यवसायीलाई काम थाल्न निर्देशन दिनेछौँ,’ उनले भने ।

चीनसँगको प्रमुख व्यापारिक राजमार्ग समेत रहेको यो सडक २१ महिना भित्र सम्पन्न गर्नेगरी आव २०७३ मंसिरबाट निर्माण थालिएको थियो । धादिङको गल्छीदेखि चीनको सीमा नाका रसुवागढीसम्म ८२ किलोमिटर सडकलाई ३ खण्डमा विभाजन गरी स्तरोन्नतिको काम भइरहेको छ ।

४६ किलोमिटर लामो गल्छी-मैलुङ सडकको अझै १६.५ प्रतिशत काम बाँकी छ । ९ वर्षमा ११ पटक म्याद थप हुँदा सडकको भौतिक प्रगति ८३.५ प्रतिशत पुगेको छ ।

यो सडकको ४६ किमीमध्ये ३८ किमी क्षेत्रमा काम सकिए पनि नुवाकोटको गँगटे-ढुंगे र रसुवाको बेत्रावती क्षेत्रमा घरटहरा हटाउन नसक्दा सडक निर्माणले पूर्णता पाउन नसकेको हो । यस सडकको निर्माणको ठेक्का ४ अर्ब ८ करोड ३३ लाख रुपैयाँमा कोभेक-तुन्दी-रसुवा जेभीले पाएको छ ।

२०७२ मङ्सिर १७ गते मन्त्रिपरिषद्को बैठकले गल्छी-मैलुङ-रसुवागढी सडकलाई सहायक मार्ग तोकी राष्ट्रिय गौरवको मान्यता दिएको थियो । सरकारले यसलाई उत्तर-दक्षिण राजमार्गका रूपमा सूचीकृत नगरे भारत-नेपाल-चीन तीन देशलाई जोड्छ । भारतीय सीमा चितवनको भण्डाराबाट चिनियाँ सीमा रसुवागढीसम्म पुग्नेछ ।

अहिले मैलुङ-स्याफ्रुबेँसी खण्डको निर्माण ठप्प छ भने स्याफ्रुबेँसी-रसुवागढी खण्डमा चीन सरकारले गत महिनादेखि काम सुरू गरेको छ ।


Back_to_top