काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले क्यूआर कोडसहितको १२ लाख थान लाइसेन्स छपाइ सम्पन्न गरेको छ ।
यातायात व्यवस्था विभाग र केन्द्र बीच गत कात्तिक १२ गते ६ महिना भित्र १२ लाख थान लाइसेन्स छापने सम्झौता भएको थियो । सो अनुसार तोकिएकै समयमा १२ लाख लाइसेन्स छपाइ सम्पन्न भएको केन्द्रले जनाएको हो ।
केन्द्रले गत कात्तिक २१ देखि ३९ वटा फिचर भएको क्यूआर कोड सहितको लाइसेन्स छाप्न सुरू गरेको थियो ।
केन्द्रका अनुसार ६ महिनामा ३७ हजार ६९८ वटा आपतकालीन, ३१ हजार २२७ दैनिक र ११ लाख ३१ हजार ७५ थान ब्याकलग लाइसेन्स प्रिन्ट गरिएको हो । केन्द्रले छापिएका सबै लाइसेन्स विभागलाई हस्तान्तरण समेत गरेको छ ।
पहिलो चरणको लाइसेन्स छपाइ सम्पन्न भएसँगै अब दोस्रो चरणको छपाइ सुरू गर्ने तयारी गरिएको केन्द्रले जनाएको छ ।
विभाग र केन्द्र बीच आगामी असार मसान्त भित्र थप १७ लाख थान लाइसेन्स छाप्न गत साता सम्झौता भएको थियो ।

