काठमाडौं । नेपालमा पछिल्लो समय इलेक्ट्रीक स्कुटरको माग तीव्र रूपमा बढिरहेको छ । मध्यपूर्वको द्धन्द्धको कारण पेट्रोलको मूल्य डेढ महिनामै ३५ प्रतिशतले बढेको छ । यस्तोमा संचालन खर्च कम गर्न उपभोक्ता इलेक्ट्रीक स्कुटरतर्फ आकर्षित हुन् थालेका हुन् ।
नेपाली बजारमा ३ दर्जन बढी ब्राण्डका इलेक्ट्रीक स्कुटर उपलब्ध छन् । जसमा २ दर्जन बढी चिनियाँ ब्राण्ड छन् । चारपाँग्रे ईभीमा चिनियाँ ब्राण्डको वर्चश्व रहँदा दुईपाँग्रेमा भने केही कमजोर देखिन्छन् । नेपालमा इलेक्ट्रीक स्कुटरमा भारतीय ब्राण्डको उपस्थिति न्यून रहे पनि पकड भने उनीहरुकै छ ।
नेपालमा बजाज, एथर, टीभीएस, याडिया, टेलजी, लुयान, ग्यारो लगायत ब्राण्डका स्कुटर रोजाइमा परेको देखिन्छ । तीमध्ये यहाँ हामीले लोकप्रिय रहेका तीन भारतीय ब्राण्डका स्कुटरको बारेमा चर्चा गरेका छौं ।
टीभीएस आइक्युब
भारतीय बजारमा सर्वाधिक रुचाइएको इलेक्ट्रीक स्कुटरमध्ये एक आइक्युब नेपालमा पनि लोकप्रिय बन्दै गएको छ । डिजाइन, विश्वासिलो ब्राण्ड र प्रयोगमैत्री फिचरका कारण यो धेरैको रोजाइमा परेको छ ।

यो स्कुटर २.२ र ३.५ किलोवाट आवरको ब्याट्री अप्सनमा पाइन्छ । यसको ब्याट्री विकल्प अनुसार रेन्ज फरक–फरक पाइन्छ । आइक्युबले एकपटक फुलचार्जमा कम्तीमा १०० किलोमिटरभन्दा बढीको रेन्ज दिन्छ । यसमा ४.४ किलोवाटको मोटर छ ।
यसमा टचस्क्रीन डिस्प्ले, नेभिगेसन, स्मार्टफोन कनेक्टिभिटी र रिभर्स असिस्ट जस्ता फिचर दिइएका छन् । सिट स्पेस आरामदायक भएकाले दैनिक अफिस आवतजावतदेखि पारिवारिक प्रयोगसम्म उपयुक्त हुन्छ ।
नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आइक्युबको सुरुआती मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ ।
एथर
एथर नेपालमा सर्वाधिक बिक्री हुने इलेक्ट्रीक स्कुटरमापदर्छ । प्रिमियम इलेक्ट्रीक स्कुटर खोज्नेका लागि एथरको ४५० सिरिज र रिज्टा मोडल आकर्षक विकल्प हो । एथरको रिज्टा मोडल विशेष गरी परिवार र दैनिक प्रयोगकर्तालाई लक्षित गरेर निर्माण भएको मोडल हो भने ४५० सिरिज अलि स्पोर्टीयर डिजाइनमा पर्छ ।

४५० अन्तर्गत एस, एक्समा दुई ब्याट्री विकल्प तथा रिज्टामा एस र जेड अप्सन उपलब्ध छ । रिज्टामा आरामदायक राइडिङ पोजिसन, ठूलो सिट र पर्याप्त स्टोरेज स्पेस दिइएको छ । त्यसैले यो फ्यामिलियर मोडल हो । सोलो राइड गर्नेलाई भने ४५० मोडल उपयुक्त हुन्छ ।
एथर ४५० एसमा २.९ किलोवाट आवर, एथर एक्समा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको ब्याट्री छ । एथरको रिज्टा एसमा २.९ र जेडमा ३.९ किलोवाट आवरको ब्याट्री रहेको छ । त्यस्तै रिज्टामा ४.३ किलोवाट र ४५० सिरिजमा ५.४ किलोवाटको मोटर जडान गरिएको छ ।
एथरका यी स्कुटरले एकपटकको फुल चार्जबाट ब्याट्री अप्सन अनुसार १२० देखि १६० किलोमिटरसम्मको रेन्ज दिन्छ । एथरका स्कुटरमा स्मार्ट ड्यासबोर्ड, कनेक्टेड टेक्नोलोजी, फास्ट चार्जिङ, ट्र्याक्सन कन्ट्रोल, नेभिगेसन जस्ता आधुनिक फिचर छन्।
डिजाइन प्रिमियम देखिन्छ भने परफर्मेन्स पनि शहरका सडकका लागि राम्रो मानिन्छ । राइड क्वालिटी र टेक्नोलोजीको हिसाबले एथर रिज्टा अहिले धेरैको नजरमा परेको मोडल हो । वैद्यज् इनर्जीले एथरको रिज्टाको सुरुआती मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ र एथर ४५० को ३ लाख २४ हजार ९९९ रुपैयाँ तोकेको छ ।
बजाज चेतक
गत साउनमा नेपाल आएको बजाज चेतक इलेक्ट्रीक स्कुटर अहिले धेरैको रोजाइ बन्न थालेको छ । लिगेसी ब्राण्ड, क्लासिक डिजाइन र आधुनिक ईभी प्रविधिको कम्बिनेसनले ग्राहकको ध्यान तानेको छ ।
नेपालमा चेतकको ३५०१ एउटा मोडल मात्रै उपलब्ध छ । चेतकमा ३.५ किलोवाट आवरको ब्याट्री छ । यसले एकपटकको फुलचार्जमा १५० किमीसम्मको रेन्ज दिन्छ ।

चेतकका स्कुटरको बलियो पक्ष मेटल बडी र टिकाउपन हो । चेतकमा रिजनरेटिभ ब्रेकिङ, डिजिटल डिस्प्ले, स्मार्ट कनेक्टिभिटी, राम्रो बुट स्पेस लगायतका फिचर छन् । टीभीएस र एथर स्कुटरको तुलनामा यसको बिल्ड क्वालिटी अझै बढि प्रिमियम महसुस हुन्छ ।
हंसराज हुलासचन्द एण्ड कम्पनीले चेतकको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ तोकेको छ ।
यी तीनै ब्राण्डको ईभी स्कुटरमा आवश्यकता अनुसारको सुविधा र एड्भान्स फिचरहरु पाइन्छ । साथै, राम्रो ब्राण्ड नेटवर्क र कम्पनीहरुले देशभरिनै दिइ रहेको सर्भिस तथा सेवाले धेरै नयाँ प्रयोकर्ताहरुलाई तानिरहेको हो ।
दैनिक कम्युटका लागि भरपर्दो र व्यावहारिक विकल्प खोज्नेका लागि टीभीएस आइक्युब, प्रिमियम टेक्नोलोजी र स्मार्ट फिचर चाहनेका लागि एथर र क्लासिक डिजाइनसँग टिकाउपन रोज्नेका लागि बजाज चेतक उपयुक्त विकल्प बन्न सक्छन् ।

