धमाधम सडक परीक्षण गरिँदै ‘यात्री पी टु’, चाँडै सार्वजनिक हुने

काठमाडौं । नेपालमै बनेको पहिलो इलेक्ट्रीक स्कुटर ‘पी टु’ धमाधम सडक परीक्षण भइरहेको छ ।

सिप्रदी ट्रेडिङ र यात्री मोटरसाइकलको संयुक्त लगानीमा उत्पादन भएको पी टु देशका विभिन्न सडकमा गुडाएर परीक्षण भइरहेको हो ।

पछिल्लो समय पी टु कुलेखानी देउराली उकालो सडकमा परीक्षण भइरहेको हो । कम्पनीले यसअघि नै देशका १ दर्जन बढी स्थानमा ७ हजार बढी किलोमिटर गुडाएर परीक्षण गरिसकेको छ ।

सार्वजनिक पछिल्लो तस्बिर अनुसार यात्री पी टु झट्ट हेर्दा मोटरसाइकल जस्तो देखिन्छ । यसको डिजाइन अन्य स्कुटरभन्दा फरक देखिन्छ ।

यसमा १४ इन्चको ह्वील दिइएको छ । मिडमाउण्ट मोटर रहेको पी टुमा एलईडी हेडल्याम्प दिइएको छ । मोटर पावर र ब्याट्री क्षमता भने खुलाइएका छैन ।

कम्पनीले उक्त स्कुटर कहिले सार्वजनिक गर्ने आधिकारिक घोषणा गरेको छैन । तर, लामो समयदेखि परीक्षण भइरहेकाले अब चाँडै बजार आउन सक्ने अनुमान गरिएको छ ।

यात्री पी टु स्कुटरको सम्पूर्ण डिजाइन र डेभलपमेन्टको काम नेपालमै गरिएको हो । यात्री डिजाइन स्टुडियोले नेपालमै पहिलो पटक यात्री पी जिरो र यात्री पी वान मोटरसाइकल सार्वजनिक गरेको थियो ।


Back_to_top