नारायणगढ-बुटवल सडक : पूर्वीखण्डको ८१% काम सकियो, रङरोगन र रेलिङ राख्न सुरू

काठमाडौं । नारायणगढ-बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वीखण्ड (नारायणगढ-दाउन्ने)को काम ८१ प्रतिशत सम्पन्न भएको छ । ६५ किलोमिटर सडकमध्ये दाउन्ने क्षेत्रको ७ किलोमिटर बाहेक अन्यत्र मुख्य काम सकिएको हो ।

आयोजना पूर्वीखण्डका सूचना अधिकारी शिव खनालले पूर्वीखण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षा सम्बन्धी काम सुरू भएको जानकारी दिए ।

उनका अनुसार हाल सडकमा रङरोगन र सुरक्षाका काम भइरहेको छ । सडकमा सेतो र पहेँलो लाइन बनाउने, बीचको डिभाइडरमा रङ लगाउने, मुख्य सडक र सहायक सडकबीच सिमेन्ट बार राख्ने काम भइहरेको छ ।

त्यस्तै, सडक सुरक्षाका लागि स्पीड लिमिटका चिह्नहरू जडान गर्ने, सडक छेउमा रेलिङ लगाउने, डब्लू–बिम राख्ने र डेलिनेटर पोल जडान गर्ने काम पनि धमाधम भइरहेको उनले बताए ।

‘पूर्वीखण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । कालोपत्र लगायत निर्माण सकिएका स्थानमा अहिले धमाधम रङरोगन र सुरक्षाका काम भइरहेका छन्,’ उनले भने ।

पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये हाल करिब ७ किलोमिटरमा मात्र कच्ची सडकको यात्रा गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

नारायणगढ-बुटवल सडक विस्तार आयोजनाको काम २४ माघ २०७५ मा सम्झौता भई २२ साउन २०७९ मा सम्पन्न गर्ने लक्ष्यका साथ चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले सुरू गरेको थियो । कुल ११३ किलोमिटर सडकलाई दुईखण्डमा विभाजन गरी काम अघि बढाइएको छ ।

निर्धारित समयमा काम सम्पन्न नभएपछि चौथोपटक २०८३ साउन मसान्तसम्म म्याद थपिएको छ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा विस्तार भइरहेको यो सडकको दुवै खण्डको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

कुल ११३ किलोमिटरमध्ये ७० किलोमिटरमा चार लेन, २९ किमीमा चार लेनसहित दुवैतर्फ ६/६ मिटरका सर्भिस लेन निर्माण गरिनेछ । दाउन्ने क्षेत्रको १४ किमी खण्डमा तीन लेनको सडक निर्माण हुनेछ ।


Back_to_top