पुराना कारः बेच्ने धेरै, किन्ने छैनन्

काठमाडौं । रिकन्डिसन बजारमा कारको ब्यापार ठप्प प्रायः छ । रिकन्डिसन हाउसमा गाडी भरिभराउ छन्, तर किन्ने मानिस छैनन् ।

उपत्यकामा अहिले ४ दर्जन बढी पुराना कार खरिद बिक्री गर्ने कम्पनीहरु छन् । ती सबै कम्पनीहरुले आफ्नो लगानीमा पुराना कार खरिद गरेर राखेका छन् । तर, किन्ने मानिसको उपलब्धता छैन ।

‘पेट्रोलियम पदार्थको मूल्य बढेसँगै रिकन्डिसन हाउसमा गाडी थुप्रन थालेका छन् । गाडी किन्नेहरु भेटिनै मुस्किल छ’, नक्सालमा रिकन्डिसन ब्यवसाय गर्दै आएका एक ब्यवसायीले मेरोअटोसँग भने ।

‘पेट्रोलियम पदार्थ महंगो बन्दै गएको पछि ईभी किन्नेहरु बढे । त्यसैले भएका पुराना गाडी पनि रिकन्डिसन हाउसमै थन्किने आवस्था आयो’, रिकन्डिसन ब्यवसायमा लामो समयदेखि सक्रिय काठमाडौं अटोमोबाइल्सका संचालक शैलेन्द्र श्रेष्ठले भने ।

उनका अनुसार दैनिक खर्च महंगो गर्न थालेसँगै पेट्रोलियम पदार्थबाट चल्ने कार छाडेर ईभी किन्नहरु बढ्दै गएका छन् । त्यसमा पनि महंगा र ठूला गाडीको बिक्री निकै घटेको उनको ठम्याइ छ ।

महंगो मूल्यका मित्सुवीसी पजेरो, जीप कम्पास, फार्ड इन्डेभर, टोयोटा फर्चुनर जस्ता ठूला गाडीको खरिदकर्ता नै भेटिन छाडेको ब्यवसायीहरु बताउँछन् ।

ठूला गाडीको विषयमा सबै बिक्रेताको लगभग उस्तै भनाइ छ । उनिहरु भन्छन्, ‘प्रिमियम भन्ने ब्राण्डका गाडी रिकन्डिसनमा खोज्ने मानिस पाइदैन । कसैले एक आपसमै खरिद बिक्री गरे बेग्लै हो । नत्र हाम्रो शोरुममा ल्याएर राखेर बिक्री गर्न सक्ने अवस्था छैन ।

साना गाडीको मूल्य पनि ब्यापक कटौती भएको बिक्रेताहरु बताउँछन् । यसअघि साना गाडी एक वा दुई दिनभन्दा बढी बस्ने अवस्था थिएन । अहिले महिनौसम्म थन्काएर राख्नु पर्ने अवस्था आएको उनिहरुको भनाइ छ ।

विद्युतीय कार चढ्दा तत्कालै खल्तीबाट पैसा नजाने र चलाउन पनि सजिलो भएको कारण उपभोक्ता रिकन्डिसन बजारमा सस्तो मूल्यमा कार खोज्नु भन्दा नयाँ सस्ता ईभी किन्ने बाटोमा लागेको बताउँदै श्रेया अटोमोबाइल्सका संचालक सचिन कुईँकेल भन्छन्, ‘मध्यपूर्वको द्धन्द्धले हाम्रो ब्यापारमै ठूलो असर प¥यो । अहिले पर्ख र हेरको अवस्थामा छौं ।’

अहिले पेट्रोल राख्ने पैसाले सजिलै मासिक किस्ता तिर्न पुग्ने अवस्था भएको कारण रिकन्डिसन बजारको ब्यापार खस्केको हो ।


Back_to_top