काठमाडौं । कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईले भारतीय बजारमा झण्डै १ दर्जन मोडलका सवारी बिक्री गर्दै आएको छ । तीमध्ये क्रेटा र भेन्यु सर्वाधिक रोजाइका मोडल बन्न पुगेका छन् ।
हुन्डाइले सन् २०२६ मा भारतीय बजारमा कुल ५१ हजार ९०२ युनिट कार बिक्री गरेको छ । जसमा क्रेटा र भेन्यु दुई मोडलको मात्रै हिस्सा आधाभन्दा बढी अर्थात् ५३.३८ प्रतिशत रहेको छ ।
भारतमा बिक्री हुने हुन्डाईका १० मोडलमध्ये क्रेटा पहिलो रोजाइमा परेको छ । ईभी र पेट्रोल दुवै भर्सनमा उपलब्ध क्रेटा अप्रिलमा १५ हजार २९१ युनिट बिक्री भएको छ । यद्यपि, यो गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत कम हो ।
हुन्डाईको बिक्री सुधारमा कम्प्याक्ट एसयूभी अल न्यू भेन्युको ठूलो योगदान देखिएको छ । कम्पनीले २०२५ अक्टोबरमा नयाँ डिजाइनसहित दोस्रो पुस्ताको भेन्यु सार्वजनिक गरेको थियो । कम्पनीले अप्रिलमा १२ हजार ४२० युनिट बिक्री गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५६ प्रतिशत बढी हो । अप्रिल २०२५ मा भेन्युको ७ हजार ९५३ युनिट बिक्री भएको थियो ।
हुन्डाईको चर्चित प्रिमियम ह्याचब्याक आई-२० को बिक्री ६० प्रतिशतले बढेको छ । हुन्डाईले अप्रिलमा ५ हजार ६२४ युनिट आई-२० बिक्री गरेको छ । जबकि अप्रिल २०२५ मा ३ हजार ५२५ युनिट बिक्री भएको थियो ।
त्यसैगरी, अप्रिलमा एक्सटर ८ हजार ९६ युनिट, ग्रान्ड आई-१० ४ हजार १४९ युनिट, औराको ४ हजार ५८७ युनिट, अल्काजार ८५० युनिट, भेर्ना ८६५ युनिट र आयोनिक ५ को २० युनिट बिक्री भएको छ ।
कुल मिलाएर, दक्षिण कोरियाली अटो निर्माता हुन्डाईले गत महिना भारतमा ५१ हजार ९०२ वटा गाडी बिक्री गरेको छ । अघिल्लो वर्षको सोही महिनामा कम्पनीले ४४ हजार ३७४ युनिट गाडी बिक्री गरेको थियो ।


