९ लाखभन्दा कममा बिक्री सुरू भयो रोयल इनफिल्ड ‘गुरिल्ला ४५०’

काठमाडौं । रोयल इनफिल्डले नेपालमा गुरिल्ला ४५० मोटरसाइकल सार्वजनिक गरेको छ । नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ४५० सीसी सेग्मेन्टको नयाँ गुरिल्ला मोटरसाइकल बिक्री सुरू गरेको हो ।

कम्पनीले गुरिल्ला ४५० मोटरसाइकलको मूल्य ८ लाख ९९ हजार रुपैयाँ तोकेको छ । कम्पनीले गत सातादेखि नयाँ गुरिल्ला ४५० मोडलको बुकिङ लिन थालेको थियो । भारतमा सन् २०२४ बाटै बिक्री सुरू भएको गुरिल्ला नेपालमा २ वर्षपछि आएको हो ।

गुरिल्ला हिमालयन ४५० इन्जिन प्लेटफर्ममा आधारित मोडल हो । यो भारतमा चर्चित पनि छ । रोयल इनफिल्डको हिमालयन ४५० मा भएको शेर्पा इन्जिन नै गुरिल्लामा प्रयोग भएको छ । तर यसको डिजाइन भने निकै फरक रोडस्टार सेग्मेन्टमा छ।

रोयल इनफिल्ड गुरिल्ला ४५० मा ४५२ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कूल्ड, डिओएचसी, एफआई, शेर्पा इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ८ हजार आरपीएममा ४० हर्सपावर तथा ५५०० आरपीएममा ४० एनएमकै पिक टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्स पाउन सकिन्छ ।

गुरिल्लामा सर्कुलर एलईडी हेड्ल्याम्प, टेल ल्याम्प, आल्मुनियम ह्याण्डलबार, आकर्षक फ्युल ट्यांक, हिमालयनको जस्तै माथि उठेको एग्जस्ट र सिंगल सिट पाइन्छ ।

रेट्रोसँगै फरक रोडस्टार डिजाइनमा देखिने गुरिल्लामा हाइ रेजुलोसनको ट्रीपर ड्यास सर्कुलर टिएफटी इन्स्ट्रुमेन्ट कन्सोल, ब्लूटुथ कनेक्टिभिटी सिस्टम, टर्न वाई टर्न नेभिगेसन, अन्य विभिन्न राइडरलाई आवस्यक पर्ने अलर्ट, नाइट मोड डिस्प्ले, एलईडी लाइट सेटअप, डवल डिस्क ब्रेक, डवल च्यानल एबीएस, राइड मोड, स्वीचेवल एबीएस, स्लिपर एण्ड असिस्ट क्लच लगायतका फिचरहरू उपलब्ध छन् ।

त्यस्तै, यसमा १७ इन्चको ब्ल्याक अलोय ह्वील, ट्युबलेस टायर, कन्भेन्सनल टेलिस्कोपिक फ्रन्ट फर्क र अफसेट मोनोशक रियर सस्पेन्सन सेटअप पाउन सकिन्छ ।

गुरिल्ला ४५० मोटरसाइकलको लम्बाइ २१३४ एमएम, चौडाइ ८३४ एमएम, उचाइ १११५ एमएम र ह्वीलबेस १४९१ एमएम छ । यो मोटरसाइकल इन्ट्री लेभल रोयल एनफिल्ड हन्टरभन्दा केवल दुई किलोग्राम मात्रै बढी तौलमा छ । यो मोटरसाइकलको राम्रो पक्ष हो ।


Back_to_top