काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफू मातहतका निकायलाई अत्यावश्यक बाहेक अवस्थामा नयाँ सामाग्री खरिद नगर्न निर्देशन दिएको छ ।
कार्यालयले बिहीबार संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, विभिन्न सरकारी निकायका साथै सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयहरूलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।
कार्यालयमै भएका सामाग्री प्रयोग नगरी नयाँ खरिद गर्ने, ममर्तमा अस्वभाविक खर्च गरी राज्यकोषमा अत्याधिक भार सिर्जना गर्ने कार्य भएकाले त्यसलाई रोक्न कडा निर्देशन दिएको हो ।
सार्वजनिक खर्च जोगाउनका लागि मौजुदा औजार, उपकरण, फर्निचर र सवारीसाधनहरूलाई नै मर्मत सम्भार गरी चालु अवस्थामा राख्न भनिएको छ ।
‘कार्यालय प्रमुख नियुक्ति, पदस्थापन र सरुवासँगै कार्यालयमा प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने, सामान्य मर्मत गरी सञ्चालनमा ल्याउन सक्ने यन्त्र र उपकरण र सवारी साधनलाई मर्मत नगरी नयाँ खरिद गर्ने, ममर्तमा अस्वभाविक खर्च गरी राज्यकोषमा अत्याधिक भार सिर्जना गर्ने जस्ता कार्य भएको भनी व्यापक गुनासो आएकोले सो सम्बन्धमा कार्यालय प्रमुखहरूले अत्यावश्यक बाहेक नयाँ सामाग्रीहरू खरीद नगरी कार्यालयमा भइरहेका सामान र औजार उपकरण र फर्निचर र सवारी साधनहरूलाई चालु अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी गर्नु गराउनु हुन,’ परिपत्रमा भनिएको छ।



