‘सरप्राइज’ दिने दाउमा ओरा फाइभ एसयूभी, मूल्य कति ?

काठमाडौं । ओरा फाइभ इलेक्ट्रीक एसयूभी विद्युतीय कार बजारलाई नै सरप्राइज दिने हिसाबले आउने भएको छ । कम्पनीले दिने सरप्राइज मूल्यको हिसाबले हुने कम्पनी स्रोतले जानकारी दियो ।

‘हामी निकै प्रतिस्पर्धी मूल्यमा ओरा फाइभ एसयूभीको बिक्री थाल्ने योजनामा छौं । आउँदै गरेको बजेटले करका दरमा परिवर्तन नगरे निकै आकर्षक मूल्यमा बिक्री थाल्नेछौं,’ भीजी इम्पेक्स स्रोतले भन्यो ।

अहिले दुई भेरियन्टमा ओरा फाइभ नेपाल आइपुगेको छ । दुवै भेरियन्टमा धेरै कुराको भिन्नता छैन । सनरुफ, वायरलेस चार्जर जस्ता कुरामा भने फरक पाउन सकिन्छ ।

ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेताले ओरा फाइभको मूल्य घोषणा नगरे पनि ४५ लाखदेखि ५० लाख रुपैयाँ भित्रै यसले बजारमा डेब्यू गर्नेछ । मूल्यको हिसाबले निकै प्रतिस्पर्धी मानिएको सेग्मेन्टमा ओरा फाइभ आउन लागेको हो ।

ओरा फाइभले नेपाली बजारमा कम्प्याक्ट एसयूभी सेग्मेन्टमा बीवाइडी एटो टु, एमजी एस फाइभ, ओमोडा ई फाइभ, लीपमोटर बी-१०, दीपल एस-०५, हुन्डाई क्रेटा ईभी, महिन्द्रा बीई सिक्स, टाटा कर्भ ईभी जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ । ओरा फाइभ पृथक लुक्सको कारण पनि उपभोक्तालाई नयाँ टेस्ट हुन सक्ने देखिन्छ ।

के के छन् फिचर ?

ओरा फाइभमा एसभोल्टले उत्पादन गरेको ५८.३ किलोवाट आवरको एलएफपी ब्याट्री छ । यसले एकपटको फुलचार्जमा ४३० किमी बढी रेन्ज दिने डब्लूएलटीपी टेस्टले देखाएको छ । यसमा ९९ किलोवाटको इलेक्ट्रीक मोटर छ ।

ओरा फाइभको ड्यासबोर्डमा १५.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्क्रीन र १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । यसमा फ्ल्याट बटम स्टेयरिङ ह्वील, फिजिकल बटनहरू, वायरलेस चार्जर, १.६५ स्क्वायर मिटरको पानारोमिक सनरुफ दिइएको छ । निकै ‘प्रिमियम फिल’ दिन सक्षम एसयूभीको सिट पनि निकै आरामदायी छ ।

ओरा फाइभको लम्बाइ ४४७१ एमएम, चौडाइ १८८३ एमएम र उचाइ १६४१ एमएम छ । यसमा २७२० एमएम लामो ह्वीलबेस दिइएको कारण लग्जरी यात्रा गर्न पाइन्छ । ओरा फाइभमा १८ इन्चको अलोय ह्वील छ । अगाडि सर्कुलर हेडलाइट र पछाडि एलईडी टेल लाइट छ । छतमा लाइडार दिइएको छ ।

रेगुलर एसयूभीको तुलनामा पृथक बडी डिजाइन र धेरै हदसम्म ओरा थ्रीबाट प्रेरित पछाडिको डिजाइनले धेरैको ध्यान खिच्नेछ । ‘स्टाइलिस फिनिस’को अलोय ह्वील र ‘कन्भेन्सनल डोर ह्याण्डल’ प्रयोग भएको एसयूभीको पछाडि स्मार्ट स्पोइलर पाउन सकिन्छ ।

ओरा फाइभ कम्प्याक्ट ईभीमा रुफ लाइडार सहितको २७ वटा सेन्सर रहेको छ । यो ईभीमा जीडब्लूएमले विकास गरेको ‘कफि पाइलट अल्ट्रा एड्भान्स ड्राइभिङ असिस्ट सिस्टम’ रहेको छ ।


Back_to_top