बजारमा पकड जमाउँदै सुजुकी बर्गम्यान स्ट्रीट, १४ लाखको माइलस्टोन पूरा

काठमाडौं । सुजुकीको लोकप्रिय म्याक्सी स्कुटर बर्गम्यान स्ट्रीट मोडलले १४ लाख युनिट बिक्रीको माइलस्टोन पूरा गरेको छ ।

जापानी दुईपाँग्रे ब्राण्ड सुजुकीको भारतमा निर्माण भएको बर्गम्यान स्ट्रीटले १४ लाख युनिट बिक्री पूरा गर्न सफल भएको हो ।

बर्गमन स्ट्रिट पहिलो पटक भारतमा जुलाइ २०१८ मा सार्वजनिक भएको थियो । ८ वर्षको अवधिमा बर्गम्यान स्ट्रीटले कुल १४.१ लाख युनिट बिक्रीको आँकडा पार गरेको हो ।

स्कुटरको कुल बिक्री मध्ये ११.६ लाख युनिट भारतीय बजारमा मात्रै बिक्री भएको छ भने २.५ लाख युनिट विभिन्न अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिएको हो ।

आर्थिक वर्ष २०२५ र २६ बर्गमन स्ट्रिटका लागि सबैभन्दा सफल वर्ष बनेको छ । उक्त अवधिमा स्कुटरको बिक्री २५ प्रतिशतले वृद्धि हुँदै २.८७ लाख युनिट पुगेको छ । जुन अहिलेसम्मकै उच्च वार्षिक बिक्री हो ।

कम्पनीको समग्र स्कुटर बिक्रीमा बर्गमन स्ट्रिटको हिस्सा करिब २५ प्रतिशत रहेको छ । बर्गमन अहिले सुजुकीको दोस्रो सर्वाधिक बिक्री हुने स्कुटर हो । पहिलो स्थानमा भने सुजुकीको एक्सेस १२५ मोडल रहेको छ । जसले ७० प्रतिशत हिस्सा ओगट्दै सुजुकीको प्रमुख उत्पादनको रूपमा आफ्नो वर्चस्व कायम राखेको छ ।

बर्गम्यान स्ट्रीट नेपालमा पनि उपलब्ध छ । नेपाली बजारमा भीजी अटोमोबाइलले बर्गम्यान स्कुटरको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ तोकेर बिक्री वितरण गरिरहेको छ ।

बर्गम्यान स्ट्रीट विशेषगरी प्रिमियम स्कुटर खोज्ने युवापुस्तासँगै दैनिक यात्रा गर्नेका लागि निकै उपयुक्त मोडल हो । यसको म्याक्सी डिजाइन, आरामदायी सिट, ठूलो फुटबोर्ड र आधुनिक फिचरहरू मुख्य आकर्षण हुन् । यसमा १२५ सीसीको सिंगल सिलिण्डर, एफआई इन्जिन पाउन सकिन्छ ।


Back_to_top