४ लाखभन्दा कममा पाइने ५ ब्राण्डका ३९ मोटरसाइकल, तपाईंको रोजाइ कुन ?

काठमाडौं । नेपाली बजारमा दुईपाँग्रे सवारी साधनको माग बढ्दै गएको छ । कोभिडपछि केही सुस्ताएको दुईपाँग्रे अटो बजार पछिल्लो समय लयमा फर्किएको छ ।

बढ्दो माग र ग्राहकको रोजाइलाई मध्येनजर गर्दै बिक्रेताहरूले कम्प्युटरदेखि प्रिमियम स्पोर्ट मोटरसाइकल समेत उपलब्ध गराएका छन् । मूल्यका आधारमा सवा २ लाखदेखि १ करोड रुपैयाँसम्म पर्ने मोटरसाइकल किन्न पाइन्छ ।

बढ्दो महँगी, पेट्रोलको मूल्य वृद्धि र संचालन खर्च कम गर्न उपभोक्ताको रोजाइमा भने कम मूल्यका राम्रो माइलेज दिने मोटरसाइकल परेको देखिन्छ । विशेषगरी मध्यम वर्र्गीय परिवार, विद्यार्र्थी, सरकारी कर्मचारी लगायतले सस्तो तर भरपर्दो किसिमका मोटरसाइकलहरू छनोट गरेको देखिन्छ ।

ग्राहकहरूको मागलाई मध्येनजर गर्दै नेपालमा स्थापित पुराना ब्राण्ड बजाज, यामाहा, टीभीएस, हिरो, होण्डा लगायतले कम मूल्यमै नयाँ मोडल र भेरियन्टका मोटरसाइकल उपलब्ध गराइरहेका छन् । अहिले बजारमा ४ लाख रुपैयाँभन्दा कम मूल्यमै आधुनिक फिचर, आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्स दिने १०० देखि २०० सीसीसम्मका मोटरसाइकल पाइन्छ ।

यहाँ हामीले स्थापित ५ ब्राण्डले ४ लाख रुपैयाँभन्दा कममा उपलब्ध गराएका मोटरसाइकल र मूल्य बारे चर्चा गरेका छौं ।

हिरो

नेपालमा हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले १०० सीसीदेखि १६० सीसीसम्ममा ९ भेरियन्टका मोटरसाइकल ४ लाख रुपैयाँभन्दा कममा उपलब्ध गराएको छ । कम्पनीले बिक्री गर्ने सुपर स्प्लेण्डर, एक्स्ट्रीम सिरिजका मोटरसाइकल उक्त मूल्यमा पाइन्छ ।

सस्तो मूल्य, कम मर्मत खर्च र धेरै माइलेज दिने भएकाले नेपाली बजारमा हिरोका मोटरसाइकलहरू धेरै बिक्री हुने मोडलमध्ये पर्छन् । स्प्लेण्डर भेरियन्ट दैनिक कामकाजी र एक्स्ट्रीम युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको छ ।

कम्पनीका अनुसार स्प्लेण्डर प्लस बीएस ४ को मूल्य २ लाख १७ हजार ९०० रुपैयाँ, बीएस ६ २ लाख ३७ हजार ९०० रुपैयाँ, सुपर स्प्लेण्डर बीएस ४ २ लाख ५५ हजार ९०० रुपैयाँ, सुपर स्प्लेण्डर एक्सटीइसी २ लाख ६६ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यस्तै, सुपर स्प्लेण्डर बीएस ६ ओबीडी टू २ लाख ६८ हजार ९०० रुपैयाँ, एक्सट्रीम १२५ आर सीबीएस २ लाख ९८ हजार ९०० रुपैयाँ, एक्सट्रीम १२५ आर एबीएस ओबीडी ३ लाख १८ हजार ९०० रुपैयाँ, एक्सट्रीम १२५ आर एबीएस ओबीडी टू ३ लाख २५ हजार ९०० र एक्स्ट्रीम १६० आर फोरभी एफआइको ३ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।

बजाज

नेपालमा बजाजको कम मूल्यमा पल्सर सिरिज, डिस्कोभर, एभेन्जर, प्लाटिना जस्ता मोडलका ११ भेरियन्ट उपलब्ध छन् । नेपाली बजारमा बजाजको पल्सर सिरिजले बलियो उपस्थिति कायम राखेको छ । पल्सर क्लासिक, एनएस, एन भेरियन्ट युवा ग्राहक र प्लाटिना माइलेजका कारण दैनिक कामकाजी व्यक्तिको रोजाइमा परेको देखिन्छ । लामो दूरी चलाउन सहज, कम पेट्रोल खर्च र आरामदायी सिटिङका कारण डिस्कोभर र एभेन्जर ग्रामीण र सहरी दुवै क्षेत्रमा प्रयोग हुन्छन् ।

नेपालका लागि बजाजको बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले पल्सर क्लासिक १५० डबल डिस्कब्रेक भेरियन्टको मूल्य ३ लाख ७३ हजार ९०० रुपैयाँ, सिंगल डिस्कको ३ लाख ६१ हजार ९००, पल्सर क्लासिक १२५ को २ लाख ९८ हजार ९००, एनएस १२५ को ३ लाख ३५ हजार ९००, एन १२५ को ३ लाख १२ हजार ९०० रुपैयाँँ तोकेको छ ।

त्यस्तै, कम्पनीले एन १५० को ३ लाख ८५ हजार ९०० रुपैयाँ, डिस्कोभर एसटीको २ लाख ५८ हजार ९००, डिस्कोभर डिस्कको २ लाख ५६ हजार ९००, एभेन्जर १६० को ३ लाख ८९ हजार ९००, प्लाटिना ईएस नयाँको २ लाख ४९ हजार ९०० र पुरानोको २ लाख १८ हजार ९०० रुपैयाँ तोकेको छ ।

टीभीएस

४ लाख रुपैयाँभन्दा कममा टीभीएसका अपाचे २००, अपाचे आरटीआर १६० टुभी, अपाचे आरटीआर १६० फोर भी सिरिज, रेडर, रेडर एफआई, रेडर आइगो मोडलका ११ भेरियन्टका मोटरसाइकल उपलब्ध छन् ।

आकर्षक डिजाइन, डिजिटल फिचर तथा स्पोर्र्टी लुकका कारण टीभीएस रेडर युवाहरूको रोजाइम परेको देखिन्छ । अपाचे आरटीआर सिरिज पनि पावरफुल इन्जिन र स्पोर्टी राइडिङ अनुभवका कारण लोकप्रिय छ । रेडन र स्ट्राइकर भने माइलेज र दैनिक प्रयोगका लागि उपयुक्त हुन्छ ।

जगदम्बा मोटर्सले टीभीएस आरटीआर १६० टूभी एफआईको मूल्य ३ लाख ५३ हजार ९०० रुपैयाँ, आरटीआर १६० टूभी रिफ्रेसको ३ लाख २१ हजार ९००, १६० फोरभी रिफ्रेस एफडीको ३ लाख ३९ हजार ९००, १६० फोरभी एसईको ३ लाख ९४ हजार ९००, १६० फोरभी रिफ्रेस एबीएसको ३ लाख ५९ हजार ९०० रुपैयाँ तोकेको छ ।

त्यस्तै, टीभीएस आरटीआर २०० फोरभी एबीएसको मूल्य ३ लाख ९३ हजार ९००, रेडरको २ लाख ७६ हजार ९००, रेडर एफआईको ३ लाख ५ हजार ९००, रेडर आइगोको ३ लाख १५ हजार ९००, स्ट्राइकर नयाँ एडिसनको २ लाख ५३ हजार ९०० र रेडनको २ लाख ३४ हजार ९०० रुपैयाँ रहेको छ ।

यामाहा

यामाहाको मोटरसाइकलहरू पनि युवा पुस्तामाझ निकै लोकप्रिय छन् । ४ लाखभन्दा कममा यामाहाका एफजेड एफआई भीटू, एफजेड एफआई भीथ्री बीएस ६ स्ट्यान्डर्ड, एफजेडएस एफआई भीटू र सलुटो गरी ४ मोडल किन्न पाइन्छ ।

एममएडब्लू राइडले यामाहाको एफजेड एफआई भीटको मूल्य ३ लाख ६६ हजार ९०० रुपैयाँ, एफजेड एफआई भीथ्री बीएस ६ स्ट्याण्डर्ड र एफजेडएस एफआई भीटू को ३ लाख ८४ हजार ९०० रुपैयाँ र सलुटोको २ लाख ८२ हजार ९०० रुपैयाँ तोकेको छ ।

यामाहाका मोटरसाइकलहरू अन्य ब्राण्डका केही मोडलहरूको तुलनामा महँगा भए पनि ब्राण्ड भ्यालु, इन्जिन परफर्मेन्स र आकर्षक डिजाइनका कारण ग्राहको रोजाइमा परिरहेका छन् । विशेषगरी एफजेड सिरिज स्टाइलिस डिजाइन, बलियो रोड ग्रिप, राम्रो माइलेज र आरामदायी राइडिङ अनुभवका कारण रुचाइएको छ ।

होण्डा

नेपालमा जापानी ब्राण्ड होण्डाका ४ लाख रुपैयाँभन्दा कम मूल्यमा साइन १२५ बीएस ६ र एसपी १२५ बीएस ६ मोडलका ४ भेरियन्ट किन्न पाइन्छ । यी दुवै मोडलमा डिस्क र ड्रमब्रेक भेरियन्ट अप्सन उपलब्ध छ ।

स्याकार ट्रेडिङले होण्डा साइन १२५ डिस्क भेरियन्टको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ, ड्रम भेरियन्टको २ लाख ८२ हजार ९००, एसपी १२५ डिस्कको ३ लाख १३ हजार ९०० र ड्रम भेरियन्टको ३ लाख ३ हजार ९०० रुपैयाँ तोकेको छ ।

स्मुथ इन्जिन, कम भाइब्रेसन, राम्रो माइलेज र रिसेल भ्यालु राम्रो भएका कारण होण्डाका मोटरसाइकलप्रति ग्राहकको आकर्षण देखिन्छ । होण्डा साइन र एसपी नेपाली बजारमा विश्वसनीय कम्प्युटर बाइकका रूपमा परिचित छन् ।

माथि चर्चा गरिएका पाँचै ब्राण्ड नेपालमा स्थापित र चर्चित छन् । सबै ब्राण्डले बिक्रीपछिको सेवा सर्भिसिङ, स्पेयर पार्ट्समा ध्यान दिएको देखिन्छ । हरेक ब्राण्डका मोटरसाइकलमा आफ्नै विशेषता, क्षमता र आधुनिक फिचर रहेकाले ग्राहकले आफ्नो रोजाइ र बजेट अनुसार छनोट गर्न उपयुक्त हुन्छ ।


Back_to_top