नयाँ मोटरसाइकल किन्नुभएको छ ? सुरूको २ हजार किमीसम्म नगर्नुहोस् यी ५ गल्ती

काठमाडौं । नयाँ मोटरसाइकल किन्ने बित्तिकै धेरैजसो राइडरहरू उत्साहित भएर सुरूबाटै निकै स्पीड गतिमा मोटरसाइकल चलाउने गर्छन् । यो एकदमै गलत हो ।

त्यही स्पीडले भविष्यमा मोटरसाइकलको इन्जिन कार्यक्षमतामा ठूलो असर पार्न सक्छ । शोरूमबाट निस्केको नयाँ मोटरसाइकलको इन्जिन सुरूका केही हजार किलोमिटरसम्म निकै संवेदनशील हुन्छ । जसलाई ‘ब्रेक इन पिरियड’ भनिन्छ । नयाँ मोटरसाइकल खरिद पछि त्यसको ब्रेक इन पिरियड करिब २ हजार किलोमिटरसम्मको हुने गर्छ ।

करिब २ हजार किलोमिटरसम्मको अवधिमा इन्जिनभित्र रहेका पिस्टन, सिलिण्डर र गियर जस्ता भागहरू पूर्ण रूपमा मिलेका हुँदैनन् । यी भागहरू विस्तारै घर्षण हुँदै एक–अर्कासँग अनुकूल बन्दै जान्छन् । यदि सोही समयमा नै अत्यधिक दबाब दिइयो भने इन्जिनको आयु घट्नुका साथै सुरूमै मोटरसाइकलको माइलेज पनि कम हुने गर्छ ।

किन महत्वपूर्ण छ ब्रेकइन पिरियड ?

नयाँ इन्जिनको सतह पूर्ण रूपमा चिल्लो हुँदैन । नियमित र सन्तुलित प्रयोगले मात्र ती भागहरू सही रूपमा सेट हुन्छन् । इन्जिन भित्रका कम्पोनेन्टहरू एकआपसमा सेट हुनलाई केही समय लाग्ने गर्छ ।

यदि सुरूमा नै उच्च गतिमा मोटरसाइकल चलाइयो भने इन्जिनभित्र अत्यधिक घर्षण उत्पन्न भई दीर्घकालीन समस्या देखिन सक्छ ।

मोटरसाइकलको स्पीडमा नियन्त्रण 

सामान्यतया नयाँ मोटरसाइकललाई पहिलो २ हजार किलोमिटर अवधिसम्म ४०-६० किलोमिटर प्रतिघण्टाको स्पीड लिमिटमा चलाउनु पर्छ । यस सम्बन्धी कम्पनीहरूले कुनै जानकारी नदिए पनि राइडर आफैंले यो कुरा ख्याल राख्नु पर्छ ।

यसले इन्जिनलाई स्थिर तापक्रममा राख्छ र ओभरहिट हुने जोखिम घटाउँछ । साथै, इन्जिनका सबै भागहरू विस्तारै र सुरक्षित रूपमा सेट हुन मद्दत पुग्छ । ब्रेकइन अवधिमा सही तरिकाले चलाइएको मोटरसाइकलले पछि १० देखि १५ प्रतिशतसम्म माइलेज बढाउँछ ।

लगातार एउटै स्पीडमा मात्र चलाउनु हुँदैन

धेरै जस्ता नयाँ राइडरहरूले मोटरसाइकल किनेपछि ब्रेकइन पिरियडसम्म एउटै स्पीडमा चलाउनु पर्छ भन्ने गलत बुझाइ राख्छन् । वास्तवमा मोटरसाइकललाई फरक–फरक स्पीडमा चलाउनु आवश्यक हुन्छ, जसले गियर र इन्जिनका सबै भागलाई विभिन्न अवस्थासँग अनुकूल बनाउँछ । तर अचानक एक्सेलेरेशन वा रेसिङ शैलीको ड्राइभिङ भने पूर्ण रूपमा बन्द नै गर्नु पर्छ । ब्रेकइन अवधिमा हाई स्पीडमा नयाँ मोटरसाइकल चलाउँदा इन्जिनका भागहरू समयभन्दा अगाडि नै घस्रिन सक्छन् ।

ओभरलोड नबोक्ने 

मोटरसाइकल किनेको सुरूका दिनहरूमा पछाडि मान्छे वा भारी सामान बोकेर चलाउँदा इन्जिनमा अनावश्यक दबाब पर्छ । त्यसैले कम्पनीले बताएको किलोमिटर कति छ, त्यही सुझाव अनुसार सिंगल मात्रै चलाउने ।

लगातार लामो राइड नगर्ने

लगातार लामो समयसम्म मोटरसाइकल चलाउँदा इन्जिन अत्यधिक तात्न सक्छ । जसले गर्दा नयाँ सेट नभइसकेका पार्टस्हरूमा असर पुग्छ ।

इन्जिन आयल परिवर्तनमा ढिलाइ नगर्ने 

नयाँ मोटरसाइकलको पहिलो सर्भिस अत्यन्त महत्वपूर्ण हुन्छ । कम्पनीले भने बमोजिम सही समय वा किलोमिटर अवधिमै सर्भिसिङ र इन्जिन आयल परिवर्तन गर्न लैजानु पर्छ । यसका लागि कम्पनीको आधिकारिक सेन्टरमै जानु पर्छ ।

मोटरसाइकल किन्ने बितिकै चलाउँदा सुरूमा हुने घर्षणका कारण इन्जिन भित्र घस्रेर मसिना धातुहरू पैदा हुन्छ । जसले गर्दा आयलमा साना धातुका कण मिसिन सक्छन्, जसलाई समयमै हटाउनु जरुरी हुन्छ । त्यसकारण समयमै आयल परिवर्तन गर्नु पर्छ ।

नयाँ मोटरसाइकलको सुरूवाती हेरचाह केवल सावधानी मात्र होइन, दीर्घकालीन लगानी पनि हो । ब्रेकइन पिरियडमा ध्यान दिएर चलाइयो भने इन्जिन लामो समयसम्म स्मूथ रहन्छ । माइलेज राम्रो आउँछ र मर्मत खर्च पनि कम हुन्छ । नयाँ मोटरसाइकल पाएपछि हतार नगरी धैर्यपूर्वक चलाउनु नै बुद्धिमानी हुने देखिन्छ ।


Back_to_top