काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउन-वैशाख) सम्म १३ हजार युनिट बढी कार आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको वैशाख मसान्तसम्म कुल १३ हजार ३६ युनिट कार, जीप, भ्यान आयात भएको हो । यो विद्युतीय र पेट्रोल कार दुवैको संख्या हो ।
गत आवको १० महिनाको तुलनामा चालु आवमा समग्र कार आयातमा झिनो गिरावट अर्थात् ३८ युनिट कम भएको छ । गत वर्ष वैशाखसम्म कुल १३ हजार ७४ युनिट कार आयात भएको थियो ।
चालु आवमा कुल २६ अर्ब ६० करोड रुपैयाँ बराबरको कार आयात भएको हो । यसबाट सरकारले २१ अर्ब ८६ करोड रुपैयाँ राजस्व पाएको छ ।
ईभी आयात घट्यो
चालु आवमा विद्युतीय कार आयातमामा १३.९५ प्रतिशतले गिरावट आएको छ । गत वर्ष १० महिनामा ९ हजार ८५७ युनिट ईभी कार आयात भएकोमा चालु वर्ष घटेर ८ हजार ६०७ युनिटमा सीमित भएको छ ।
चालु आवमा कुल २० अर्ब ३२ करोडको ईभी कार भित्रिएका छन् । जसबाट सरकारले १२ अर्ब ४३ करोड रुपैयाँ राजस्व पाएको छ ।
गत आवको बजेट अघि कर बढ्ने हल्लाले व्यवसायीले वैशाखमा मात्रै व्यवसायीले ३ हजार युनिट बढी ईभी कार आयात गरेको थिए । ती कार अझै बिक्री भइनसकेकाले आयातमा प्रभाव परेको हो । साथै, यस वर्ष कर बढ्ने हल्ला नचल्दा व्यवसायीले स्कट कार ल्याएका छैनन् । जसले गर्दा समग्र ईभी आयात घटेको हो ।
चालु आवमा ५० किलोवाटसम्मका २८४३ युनिट, ५१ देखि १०० किलोवाटसम्मका ५०२५, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ७२३ र २०१ किलोवाट माथिका ९ युनिट ईभी भित्रिएक छन् । त्यस्तै, ५० किलोवाटसम्मका दुई युनिट अनएसेम्बल विद्युतीय कार आयात भएको छ ।
पेट्रोल कार आयातमा उछाल
चालु वर्षमा ईभी कार आयात घट्दा पेट्रोल कारमा भने उच्च वृद्धि देखिएको छ । १० महिनाको अवधिमा ४ हजार ४२९ युनिट पेट्रोल कार आयात भएको छ ।
यो गत वर्ष सोही अवधिको तुलनामा ३७.६७ प्रतिशत धेरै हो । गत वर्ष वैशाखसम्म कुल ३ हजार २१७ युनिट पेट्रोल कार आयात भएको थियो । बजारमा आइस कारको माग बढेसँगै आयात पनि बढेको हो । यद्यपि, पछिल्लो समय इरान युद्धका कारण कच्चा तेलको मूल्य अचाक्ली बढेपछि पेट्रोल कार आयात सुस्ताएको छ ।
पेट्रोल कार आयातमा हुन्डाईको वर्चश्व रहेको छ । १० महिनामा कुल ४४२९ युनिट पेट्रोल कार आयात हुँदा २०३५ युनिट अनएसेम्बल कार रहेको विभागको तथ्यांक छ ।
नेपालमा हाल हुन्डाईले मात्रै चारपाँग्रे सवारी एसेम्बल गर्ने भएकाले यो सबै कार उसकै हो । हुन्डाईले नेपालमा क्रेटा र भेन्यू उत्पादन गर्दै आएको छ ।


