काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा दुईपाँग्रे सवारी साधन बजार गुलजार बनेको छ । कोभिडपछि सुस्ताएको दुईपाँग्रे सवारी (मोटरसाइकल/स्कुटर)को बिक्री चालु आवमा उल्लेख्य रुपमा बढेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आवको १० महिना (साउन/वैशाख)को तथ्यांक अनुसार दुईपाँग्रे सवारी आयात ३४.९३ प्रतिशतले बढेको हो ।
विभागका अनुसार चालु आवको १० महिनामा २ लाख २८ हजार २९० युनिट मोटरसाइकल र स्कुटर (मोपेड बाहेक) आयात भएको हो । यो संख्या अनएसेम्बल र तयारी दुवैको तथ्यांक हो ।
चालु वर्षमा गत वर्षको सोही अवधिको तुलनामा दुईपाँग्रे सवारी आयात ५९ हजार ९६ युनिट धेरै हो । गत वर्ष १० महिनामा १ लाख ६९ हजार १९४ युनिट मोटरसाइकल र स्कुटर आयात भएको थियो ।
विभागका अनुसार चालु आवमा आयात भएको दुईपाँग्रे सवारीमध्ये ८२.३६ प्रतिशत अनएसेम्बल रहेका छन् । १० महिनामा १ लाख ८८ हजार २८ युनिट अनएसेम्बल दुईपाँग्रे सवारी आयात भएको हो ।
हाल नेपालमा आधार दर्जन बढी ब्राण्डका दुइपाँग्रे सवारी उत्पादन हुन्छ । रोयल इनफिल्ड, बजाज, टीभीएस, यामाहा, हिरो, होण्डा, सीएफमोटो लगायत ब्राण्डका मोटरसाइकल/स्कुटर नेपालमै एसेम्बल हुन्छन् ।
१० महिनामा ४० हजार २६२ युनिट तयारी अवस्थाका मोटरसाइकल र स्कुटर आयात भएको विभागको तथ्यांक छ ।
चालु आवमा आयात भएका दुईपाँग्रे सवारी मध्ये २ लाख ९ हजार ४७२ युनिट पेट्रोल र १८ हजार ८४८ युनिट विद्युतीय रहेका छन् ।


