एटो थ्रीमा ब्याट्रीकाे कारणले होइन, बाह्य कारणले आगो लागेको हो : बीवाइडी नेपाल

काठमाडौं । बीवाइडीको नेपालले गत वैशाख २४ गत मोरङको पथरीस्थित जंगलमा बीवाइडी एटो थ्रीमा ब्याट्री वा अन्य कारण आगलागी नभएको स्पष्ट पारेको छ ।

नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले एक विज्ञप्ति जारी गर्दै आगलागीको कारण उच्च भोल्टेजको ब्याट्री र हाई भोल्टेज प्रणाली नरहेको बताएको हो ।

बीवाइडी हेडक्वाटरका इन्जिनियरहरूको सहयोगमा गरिएको अनुसन्धानले ब्लेड ब्याट्री र पावर ट्रेन सुरक्षित फेला पारिएको साइमेक्सले जनाएको छ । उक्त एटो थ्रीमा आगलागीको कारण बाह्य आगोको स्रोत नै जिम्मेवार रहेको संकेत देखिएको कम्पनीको भनाइ छ ।

‘यो आगलागीको कारण उच्च भोल्टेजको ब्याट्री र हाई भोल्टेज प्रणाली होइन । बीवाइडी मुख्यालयका इन्जिनियरहरूको सहयोगमा गरिएको हाम्रो अनुसन्धानले ब्लेड ब्याट्री र पावरट्रेन सुरक्षित फेला पारेको छ, जसले बाह्य आगोको स्रोत नै जिम्मेवार रहेको संकेत गर्छ । आगो सुरु भएको ठ्याक्कै बिन्दु अझै पुष्टि हुन बाँकी रहे पनि प्रारम्भिक प्रमाणहरूले सजिलै आगो समात्ने सामग्रीहरू (सजावटका सामान, सुकेका पात आदि) तिरै औंल्याउँछन्,’ साइमेक्स इंकले भनेको छ, ‘हामी यो कुरामा जोड दिन्छौँ कि कडा सुरक्षा परीक्षणहरूमा प्रमाणित भइसकेको बीवाइडीको ब्लेड ब्याट्रीले ब्याट्रीमा हुन सक्ने ठूलो क्षतिलाई रोकेको छ । सबैभन्दा हामी ग्राहकको सुरक्षा र पारदर्शितालाई प्राथमिकता दिन्छौँ । हामी बीवाइडीको प्रविधिप्रति पूर्ण रूपमा विश्वस्त छौँ जसले नेपाली नागरिकहरूलाई निरन्तर भरपर्दो सेवा प्रदान गरिरहनेछ ।’

कम्पनीले उपलब्ध जानकारी, भिडियो फुटेज र चालको प्रत्यक्ष भनाइलाई आधार मान्दै उक्त निष्कर्ष निकालेको हो । यस घटनापछि पनि गाडीको ब्याट्री प्याक पूर्ण रूपमा सुरक्षित रहेको र ब्याट्रीमा कुनै थर्मल रनअवे नभएको कम्पनीले स्पष्ट पारेको कम्पनीको भनाइ छ । साथै, बलिरहेको बीवाइडी एटो थ्रीको भिडियोले पनि ब्याट्री आगोको स्रोत नभएको पुष्टि गरेको जनाएको छ ।

साइमेक्सका अनुसार बीवाइडीको ब्लेड ब्याट्री विभिन्न परीक्षणबाट सुरक्षित प्रमाणित भएको छ । ब्लेड ब्याट्रीको रासायनिक बनावट र डिजाइनले गर्दा यसमा ताप उत्सर्जन हुने सम्भावना निकै कम हुने र आगलागीका घटनाहरूमा सजिलै अक्सिजन पैदा नगर्ने कम्नीको स्पष्टीकरण छ ।

‘बीवाइडीको एलएफपी ब्लेड ब्याट्रीले नियन्त्रित परीक्षणहरूमा कडा परीक्षाहरू पार गरेको छ । उदाहरणका लागि एउटा प्रत्यक्ष नेल पेनेट्रेशन टेस्टमा ब्याट्रीमा किला छिर्दा पनि कुनै आगो वा धुवाँ निस्किएन। त्यस्तो चरम दबाबमा पनि यसको बाहिरी सतहको तापक्रम करिब ३० देखि ६० डिग्री सेल्सियस मात्र पुगेको थियो। अन्य कडा परीक्षणहरू (जस्तै किच्ने, बङ्ग्याउने, ३०० डिग्री सेल्सियसको तापक्रममा राख्ने र २६० प्रतिशत ओभरचार्ज गर्ने मा पनि ब्लेड ब्याट्रीमा कुनै आगो लाग्ने वा विस्फोट हुने समस्या देखिएन,’ कम्पनीले भनेको छ ।

साइमेक्सका सर्भिस इन्जिनियरहरू र बीवाइडी मुख्यालयका इन्जिनियरहरूले विस्तृत निरीक्षण गर्दा एटो थ्रीको ८ इन १ इलेक्ट्रीक पावरट्रेन (जसमा भीसीयू, बीएमएस, एमसीयू, पीडीयू, डीसी डीसी कन्भर्टर, अनबोर्ड चार्जर, ड्राइभ मोटर र ट्रान्समिसन एकीकृत हुन्छन्) पूर्ण रूपमा सुरक्षित रहेको र यसमा कुनै पनि विद्युतीय खराबी वा क्षति नभएको पाइएको कम्पनीको भनाइ छ । विशेष गरी हाइ भोल्टेजको ब्लेड ब्याट्री प्याक सुरक्षित फेला परेकाले ब्याट्री प्याक भित्र कुनै पनि सर्ट सर्किट वा थर्मल रनअवे नभएको संकेत देखिएको कम्पनीको भनाइ छ ।


Back_to_top