काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले विद्युतीय सवारीको मूल्य बढ्ने भएको छ । आर्थिक ऐनमा गरिएको करको शिर्षक र दरमा गरिएको हेरफेरले ईभीको मूल्यमा उच्च वृद्धि हुने देखिएको हो ।
सरकारले यसअघि ईभीको कर निर्धारण मोटर पिकपावरका आधारमा गर्दै आएकोमा अब मूल्यका आधारमा गर्ने भएको छ । त्यस्तै, अन्तःशुल्क खारेज गर्दै नयाँ शिर्षकमा ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ लगाउने भएको छ ।
अहिले सबै ईभीमा भन्सार दर एउटै २० प्रतिशत, बनाइएको छ । सडक निर्माण दस्तुर ५ प्रतिशत र भ्याट १३ प्रतिशत यथावत राखिएको छ । तर, स्वच्छ पूर्वाधार लगानी शुल्क भने मूल्यका आधारमा न्यूनतम २.५ प्रतिशतदेखि अधिकतम १३० प्रतिशतसम्म लाग्छ । जसमा २० लाखसम्मका कारमा २.५ प्रतिशत, २० देखि ३० लाखमा २० प्रतिशत, ३० देखि ४० लाखमा ३५ प्रतिशत, ४० देखि ५० लाखमा ९० प्रतिशत र ५० लाख माथिका कारमा १३० प्रतिशत नयाँ शुल्क लाग्छ ।
नयाँ करको दर समग्रमा पहिलोकोभन्दा बढेकाले सबैखाले ईभीको मूल्य बढ्ने भएको छ । इन्ट्री लेभल कारको मूल्य ३ प्रतिशतसम्म बढ्ने देखिएको छ । त्यस्तै, नेपालमा सर्वाधिक बिक्री हुने मध्यम वर्गका ईभीको मूल्य ८ प्रतिशतसम्म बढ्ने देखिन्छ ।
महँगा मूल्यको ईभीको मूल्यमा भारी वृद्धि हुने देखिएको छ । यसअघि प्रिमियम सेग्मेन्टमा ६०/७० लाख रुपैयाँ माथि मूल्यमा बिक्री हुँदै आएका कारको मूल्य अब झण्डै करोड माथि पुग्ने देखिएको छ । अब महँगा मूल्यका ईभीमा कुल २३० प्रतिशतसम्म कर लाग्ने हुँदा मूल्य निकै बढ्ने भएको हो ।
यहाँ हामीले ४० देखि ५० लाख मूल्यका गाडीको पहिला र अहिलेको करर अनुसार तुलनात्मक रूपमा हिसाब गरेका छौं ।
पुरानो र नयाँ व्यवस्था अनुसार कति फरक पर्छ ?
अहिले भन्सार कारोबार मूल्य (सीआइएफ) ४० देखि ५० लाख रुपैयाँ कायम हुने अधिकांश गाडी १०० देखि २०० किलोवाट र केही २०० देखि ३०० किलोवाट मोटर क्षमताका छन् । यस आधारमा पुरानो व्यवस्था र नयाँ व्यवस्था अनुसार मूल्यका कति फरक पर्छ भनेर हेरेका छौं ।
पुरानो व्यवस्था अनुसार १०० देखि २०० किलोवाटसम्मको मोटर भएका ईभीमा ३० प्रतिशत भन्सार, २० प्रतिशत अन्तःशुल्क, ५ प्रतिशत सडक निर्माण दस्तुर र १३ प्रतिशत भ्याट लाग्थ्यो । यसमा सिधा हिसाबमा ६८ प्रतिशत कर लागेको देखिए पनि कुलमा ८५ प्रतिशत कर लाग्थ्यो । त्यस्तै, २०० देखि ३०० किलोवाट क्षमताका मोटर भएकामा ६० प्रतिशत भन्सार, ३५ प्रतिशत अन्तःशुल्क, ५ प्रतिशत सडक निर्माण दस्तुर र १३ प्रतिशत भ्याट लाग्थ्यो । यो क्याटगोरीमा कुल १५६ प्रतिशतसम्म कर लाग्थ्यो ।
उदाहरणका लागि सीआइएफ मूल्य ४९ लाख रुपैयाँ कायम हुने गाडीमा ३० प्रतिशत भन्सार जोडिँदा ५३ लाख ३० हजार हुन्छ । त्यसमा २० प्रतिशत अन्तःशुल्क जोड्दा ६३ लाख ९६ हजार हुन्छ । त्यसमाथि ५ प्रतिशत सडक निर्माण दस्तुर जोड्दा गाडीको मूल्य ६७ लाख १६ हजार रुपैयाँ पुग्छ । त्यसमा १३ प्रतिशत भ्याट जोड्दा गाडीको मूल्य भन्सार बिन्दुबाट छुट्दा ७५ लाख ८९ रुपैयाँ पुग्छ । व्यवसायीले त्यसमा आफ्नो नाफा राखेर ग्राहकलाई बेच्छन् ।
नयाँ व्यवस्था अनुसार ४० देखि ५० लाख रुपैयाँ मूल्यमा ईभीमा २० प्रतिशत भन्सार, ९० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क, ५ प्रतिशत सडक निर्माण दस्तुर र १३ प्रतिशत भ्याट लाग्छ । नयाँ व्यवस्था अनुसार सिधा हिसाबमा १२८ प्रतिशत कर लाग्ने देखिन्छ । तर, एकपछि अर्को कर जोडिँदै भ्याट लगाउँदा कुल १७१ प्रतिशत कर लाग्छ ।
उदाहरणका लागि नयाँ व्यवस्था अनुसार ४१ लाखको गाडीमा २० प्रतिशत भन्सार लगाउँदा मूल्य ४९ लाख २० हजार हुन्छ । त्यसमा ९० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा ९३ लाख ४८ हजार हुन्छ । त्यसमाथि ५ प्रतिशत सडक निर्माण दस्तुर लगाउँदा ९८ लाख १५ हजार हुन्छ । फेरि त्यसमाथि १३ प्रतिशत भ्याट लगाउँदा गाडीको मूल्य १ करोड १० लाख ९१ हजार रुपैयाँ पुग्छ ।
यसरी नयाँ व्यवस्था अनुसार ४० देखि ५० लाख सीआइएफ मूल्य कायम हुने ईभीमा करिब २० देखि ४० प्रतिशतसम्म कर बढ्ने देखिन्छ । अर्थात् पहिला ४१ लाख सीआइएफ मूल्यको गाडीमा मात्रै करिब ३५ लाख रुपैयाँ मूल्य बढ्ने देखिन्छ ।आइसीएफ मूल्य ४९ लाख हुने कारको मूल्य करिब ४५ लाखसम्म बढ्ने देखिन्छ ।
हाल यो सेग्मेन्टमा बिक्री भइरहेका बीवाइडी सिलायन सेभेन, एमजी आइएम ६, दीपल ई ०७, जिकर एक्स, अवतार लगायत ईभीको मूल्य बढ्ने देखिन्छ ।


