काठमाडौं । पर्यटन राजधानी पोखरा पुग्ने पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-पोखरा सडकको ‘सेफ्टी अडिट’ सुरू गरिएको छ ।
हाल चार लेनमा स्तरोन्नतिको क्रममा रहेको मुग्लिन-पोखरा सडकमा दुर्घटना बढेसँगै सेफ्टी अडिट गर्न लागिएको हो । साथै, वर्षायाम नजिकिँदै गर्दा पहिरो र दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले ‘सेफ्टी अडिट’ गर्न लागिएको हो ।
मुग्लिन-पोखरा सडक आयोजना प्रमुख कृष्णबहादुर कुँवरले स्तरोन्नतिका क्रममा रहेको मुग्लिन-पोखरा सडकमा बढ्दो सवारी चाप र दुर्घटनालाई मध्यनजर गर्दै ‘सेफ्टी अडिट’ सुरू गरिएको जानकारी दिए ।
उनका अनुसार अडिटका क्रममा सडकको मोड, चोक, पुल, साइनबोर्ड, डिभाइडर, सडकबत्ती, पैदलयात्रीको आवागमन तथा दुर्घटना सम्भावित क्षेत्रको अध्ययन गरिने छ ।
‘मुग्लिन-पोखरा सडक स्तरोन्नतिको अन्तिम चरणमा छ । सवारी चाप बढ्दो छ । सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर सेफ्टी अडिट सुरू गरेका छौं,’ उनले भने ।
अडिटको प्रतिवेदनका आधारमा राजमार्गमा आवश्यक स्थानमा थप सुरक्षा व्यवस्था, ट्राफिक संकेत चिह्न, रेलिङ, गति नियन्त्रण, चेतनामूलक चिह्न राखिने उनले बताए ।
बालेन्द्र शाह नेतृत्वको चैत १ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सरकारको १०० बुँदे कार्ययोजनामा समेत मुग्लिन-पोखरा सडकमा सेफ्टी अडिट गर्ने र यसको प्रतिवेदन अन्य सडकमा समेत लागू गर्ने उल्लेख गरिएको थियो ।
संघीय राजधानी काठमाडौंलाई गण्डकी प्रदेशको राजधानी पाखेरा जोड्ने पृथ्वी राजमार्ग निकै व्यवस्त सडक हो । हाल यो सडक धमाधम चारलेनमा विस्तार भइरहेको छ । ८० किलोमिटर लामो मुग्लिन-पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी स्तरोन्नति भइरहेको हो ।
४१.४५ किलोमिटर लामो पूर्वीखण्ड (आँबुखैरेनी-जामुने) निर्माण सम्पन्न भई हस्तान्तरण समेत भइसकेको छ । यो सडक चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा निर्माण गरेको हो ।
त्यस्तै, ३८.८८ किमी दूरीको पश्चिम खण्ड (जामुने-पोखरा) निर्माणको अन्तिम चरणमा पुगेको छ । यसको हालसम्म भौतिक प्रगति ७८ प्रतिशत पुगेको छ । यसको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पाएको छ ।
यसको तेस्रो पटक थपिएको म्याद आगामी असार १५ गतेसम्म रहेको छ । उक्त अवधिमा पनि काम सम्पन्न हुने सम्भावना कम छ ।


