हिमालयन ४५० र्‍याली नेपालमा सार्वजनिक, मूल्य निकै आकर्षक

काठमाडौं । रोयल इनफिल्ड नेपालले हिमालयन ४५० मोटरसाइकलको नयाँ भेरियन्टको बिक्री सुरू गरेको छ ।

नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले हिमालयन ४५० को र्‍याली एडिशन सार्वजनिक गरेको हो ।

कम्पनीले सुरूआती मूल्य १० लाख ८० हजार रुपैयाँ मूल्य तोकेर हिमालयन ४५० र्‍यालीको बिक्री थालेको हो ।

कम्पनीले र्‍याली एडिशन (माना ब्ल्याक) भर्सन नेपाल भित्र्याएको हो । यो पूर्ण रूपमा कालो कलर सजिएको हिमालयन ४५० अझ प्रिमियम, आक्रामक र अफ–रोड केन्द्रित मोटरसाइकल हो ।

नेपालमा हिमालयन ४५० को अन्य पाँच कलर भेरियन्ट उपलब्ध छ । यी भेरियन्टमा कलर बाहेक अन्य कम्पोनेन्टहरु समान पाइन्छ ।

अन्य भेरियन्टको तुलनामा रु्यालीमा पूरा ब्ल्याक फिनिस, ह्याण्ड गार्ड, र्‍याली–स्टाइल फ्रन्ट फेन्डर, हाई–माउन्टेड मडगार्ड, र्‍याली स्टाइल सिंगल पिस सिट, ट्युबलेस वायर–स्पोक ह्विल र छोटो रियर सेक्शन जस्ता विशेषता थपिएका छन् । जसले अफ–रोड राइडिङमा थप सहजता प्रदान गर्ने छ ।

नयाँ भेरियन्टमा डिजाइन र केही एक्सेसरीज बाहेक अन्य यान्त्रिक परिवर्तन गरिएको छैन । यसमा ४५२ सीसी क्षमताको लिक्विड–कुल्ड, सिंगल सिलिण्डर, एफआई, फोर भल्भ, शेर्पा इन्जिन दिइएको छ । यो इन्जिनले अधिकतम ४० पीएस पावर र ४० एनएमकै टर्क जेनेरेट गर्छ । मोटरसाइकलमा ६–स्पिड गियरबक्सका साथै असिस्ट एण्ड स्लिपर क्लच पनि छ ।

हिमालयन ४५० मा राइड–बाइ–वायर थ्रोटल, स्विचेबल एबीएस, टीएफटी डिस्प्ले, गुगल म्याप नेभिगेसन, ब्लुटूथ कनेक्टिभिटी, टर्न वाइ टर्न नेभिगेशन, राइड मोड, यूएसडी फोर्क र मोनोशक सस्पेन्सन सेटअप, यूएसबी चार्जिङ पोर्ट लगायतका आधुनिक फिचरहरू छन् ।


Back_to_top