काठमाडौं । पारामाउन्ट मोटर्सले एमजी एस सिक्स एसयूभीको मूल्य वृद्धि गरेको छ । सरकारले ईभीमा कर बढाएसँगै कम्पनीले मूल्य समायोजन गरेको हो ।
अघिल्लो महिना मात्रै बिक्री सुरू भएको एमजी एस सिक्स एसयूभीको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ कायम भएको थियो । अब कम्पनीले उक्त मूल्यमा कम्तीमा २ लाख रुपैयाँ माथि बढाउने जनाइएको हो ।
सरकारले नयाँ शिर्षकमा लगाएको करका कारण एमजी सिक्सको मूल्य ७ प्रतिशतसम्म बढ्ने देखिएको छ । तर, कम्पनीले २ लाखदेखि ४ लाख रुपैयाँसम्म बढाउन सक्ने बताइएको छ । कम्पनीले शोरुममा गाडी बुक गर्न जाने ग्राहकलाई बढेको मूल्यमा बुकिङ लिन थालेको छ ।
बडी साइजका हिसाबले झण्डै ८५ देखि एक करोड माथि पर्ने गाडीको सेग्मेन्टमा रहेको एस सिक्स अन्य प्रतिस्पर्धीभन्दा निकै राम्रो मूल्य तोकिएको हो ।

यसअघि भन्सार ३० प्रतिशत, अन्तःशुल्क २० प्रतिशत र सडक निर्माण कर ५ प्रतिशत लाग्ने सेग्मेन्टमा उपलब्ध एमजी सिक्स अब भन्सार २० प्रतिशत, स्वच्छ निर्माण कर ३५ प्रतिशत र सडक निर्माण कर ५ प्रतिशत लाग्ने सेग्मेन्टमा आउँछ ।
एमजी एस सिक्स ४.७ मिटर सेग्मेन्टमा उपलब्ध एसयूभी हो । १८० किलोवाट क्षमताको पावरफुल इलेक्ट्रीक मोटर रहेको एस सिक्स सेग्मेन्टकै पावरफुल एसयूभी पनि हो ।
पावरसँगै एमजी एस सिक्स रेन्जको कारण पनि चर्चामा रहेको मोडल हो । यसमा ७७ किलोवाट आवरको विशाल साइजको एनसीएम ब्याट्री दिएको छ । यसमो डब्लूएलटीपी रेन्ज नै ५३० किलोमिटर बताइएको छ ।
ब्याट्री साइजको आधारमा निकै ठूलो एमजी सिक्सले १४४ किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्छ । उक्त चार्जरले ३८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्ने कम्पनीको दाबी छ ।
एमजीले यसको क्याबिन धेरै हदसम्म एमजी फाइभमा आधारित रहेर तयार पारेको छ । ड्यासबोर्डमा १२.८ इन्चको स्क्रीन, ११ वटा स्पीकर, हिटेड सिट, पानारोमिक सनरुफ, अगाडि फ्रन्ट फ्रङ्क्स उपलब्ध छ ।
टेक्नोलोजीका हिसाबले पनि एमजी सिक्स निकै बलियो छ । आवश्यकता अनुसार मिलाउन सकिने रिजेन, वान पेडल ड्राइभिङ, आइएम सिक्समा दिइएको अप्सनल ‘रेन नाइट मोड’ पाउन सकिन्छ ।


