बजेटकै कारण बढ्दैन यी १ दर्जन कारको मूल्य

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत विद्युतीय सवारीमा नयाँ शिर्षकमा कर लगाए पनि इन्ट्री लेभल कारको मूल्यमा असर नपर्ने देखिएको छ ।

सरकारले ईभीमा लाग्दै आएको अन्तःशुल्क खारेज गर्दै नयाँ शिर्षकमा ‘स्वच्छ पूर्वाधर लगानी शुल्क’ लगाएको छ । साथै, मोटर पिक पावरका आधारमा कर लगाउँदै आएकोमा सीआइएफ मूल्यका आधारमा लगाउने व्यवस्था गरेको छ ।

बजेटले २० लाख रुपैयाँ (सीआइएफ मूल्य)सम्मका कारमा २० प्रतिशत भन्सार, २.५ प्रतिशत स्वच्छ पूर्वाधर लगानी शुल्क, २.५ प्रतिशत सडक निर्माण दस्तुर र १३ प्रतिशत भ्याट गरी कुल ४२.४६ प्रतिशत कर लगाएको छ ।

सीआइएफ मूल्य २० लाखभन्दा तल मूल्य रहेका अधिकांश कार ५० किलोवाटभन्दा साना मोटर क्षमतका छन् । पुरानो व्यवस्था अनुसार ५० किलोवाट मुनिका कारमा १५ प्रतिशत भन्सार, ५ प्रतिशत अन्तःशुल्क, ५ प्रतिशत सडक निर्माण दस्तुर र १३ प्रतिशत भ्याट गरी कुल ४३.२७ प्रतिशत कर लाग्थ्यो ।

यसरी तुलना गर्दा २० लाख रुपैयाँ कम सीआइएफ मूल्य कायम हुने साना कारमा पहिलाकोभन्दा ०.८१ प्रतिशत कम कर लाग्छ।उदाहरणका लागि १९ लाख ५० हजार सीआइएफ मूल्य हुने कारको पुरानो व्यवस्था अनुसार सबै कर जोड्दा भन्सारबाट छुट्ने मूल्य २७ लाख ९४ हजार रुपैयाँ हुन्छ । नयाँ कर अनुसार सोही कारको भन्सार छुट्ने मूल्य २७ लाख ७९ हजार रुपैयाँ हुन्छ । यहाँ साढे १९ लाख रुपैयाँ सीआइएफ मूल्यको कारको मूल्य पहिलाभन्दा १५ हजार रुपैयाँ घट्ने देखिन्छ ।

नयाँ बजेटमा गरिएको करको व्यवस्थाले २० लाख माथिका सबै विद्युतीय कारको मूल्य बढाएकाे छ । तर, २० लाखभन्दा कमका कारको थोरै मूल्य थाेरै भए पनि घट्ने देखिन्छ । यद्यपि, पछिल्लो समय अमेरिकी डलर र आयात लागत बढिरहेकाले बिक्रेताहरूले मूल्य बढाउन बाध्य हुन सक्छन् ।

करकै कारण बढ्दैन् यी कारको मूल्य

करकै कारण हाल नेपाल बजारमा बिक्री भइरहेका १ दर्जन बढी मोडलका मिनी ईभी र ह्याचब्याक ईभीको मूल्य नबढ्ने देखिन्छ ।

एमजी कोमेट ईभी, बुलिङ ईभी, चांगान लुमिन, केई इक्युट ०२, इक्युट ०४, हेनरी भोल्ट्स, बीएडब्लू ब्रम्बी लगायत मिनी कारको सीआइएफ मूल्य २० लाख रुपैयाँभन्दा कम छ । त्यसैले यी कार आयात हुँदा करमा अति थोरै भए पनि राहत पाउने छन् ।

त्यस्तै, ह्याचब्याकतर्फ टाटा टियागो, बीवाइडी एटो वान (स्ट्याण्डर्ड भेरियन्ट), दायुन, डोङफेङ बक्स लगायतको पनि सीआइएफ मूल्य २० लाखभन्दा कम नै रहेकाले करकै कारण मूल्य बढ्ने देखिँदैन ।


Back_to_top