काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनमा मापदण्ड विपरीतका हेडलाइट तथा हर्न जडान गरी सञ्चालन गर्ने सवारीधनीलाई कडा कारबाही गर्ने भएको छ । विभागले सुचना जारी गर्दै उत्पादकले तोकेको भन्दा फरक हेडलाइट तथा हर्न राखेमा कडा कारबाही गर्ने बताएको हो ।
कम्पनीले तोकेको भन्दा फरक क्षमताका बत्ती तथा हर्न जडान गरी सवारी सञ्चालन गर्ने प्रवृत्ति बढेको भन्दै, यस्ता बत्ती र हर्नका कारण अन्य सवारी चालक तथा पैदलयात्रीलाई समस्या हुने, दृश्यता प्रभावित हुने तथा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्तो नर्गन सुचना प्रकाशित गरेको हो ।
विभागका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को धारा ३९ बमोजिम सम्बन्धित कार्यालयको स्वीकृति बिना सवारी साधनमा हेरफेर गर्न पाइँदैन। त्यसैले कम्पनीले निर्धारण गरेको स्पेसिफिकेसनभन्दा बाहिरका हेडलाइट तथा अन्य उपकरण जडान गर्नु कानुनविपरीत हुने विभागले स्पष्ट पारेको छ।
सवारी निरीक्षण तथा परीक्षण मापदण्ड, २०७४ अनुसार डिप वा लो–बिम हेडलाइटको प्रकाश तीव्रता १५ हजारदेखि ३० हजार क्यान्डेलासम्म हुनुपर्ने व्यवस्था छ। त्यस्तै, हाई–बिम हेडलाइटको हकमा प्रत्येक बत्तीको प्रकाश तीव्रता १ लाख क्यान्डेलाभन्दा कम तथा चारवटै हेडलाइटको कुल तीव्रता २ लाख क्यान्डेलाभन्दा कम हुनुपर्ने प्रावधान छ। विभागले आँखा झिम्क्याउने वा अत्यधिक चम्किला अतिरिक्त बत्ती जडान गर्न नपाइने जनाएको छ।
त्यसैगरी, हर्नको ध्वनि क्षमता न्यूनतम ९० डेसिबल र अधिकतम ११२ डेसिबलसम्म मात्र हुनुपर्ने व्यवस्था रहेको विभागले स्मरण गराएको छ। प्रेसर हर्न तथा मापदण्डविपरीतका अन्य हर्न प्रयोग गर्न नपाइने पनि सूचनामा उल्लेख छ।
विभागले तोकिएको मापदण्डविपरीत बत्ती वा हर्न जडान गरी सवारी सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।



