नाइमा एक्स्पोमा ३ ब्राण्डले उतार्दै नयाँ ह्याचव्याक कार, मूल्य आकर्षक हुने

काठमाडौं । साउन २६ गतेबाट सुरु हुने ‘नाइमा मोविलीटी एक्स्पो २०२६’ मा एक दर्जन बढी विद्युतीय कार मोडल आउने भएका छन् । उक्त एक्स्पोमा सहभागि अधिकांश ब्राण्डले नयाँ ईभी देखाउने तयारी थालेका हुन् ।

साउन अन्तिमसाता हुने अटो एक्स्पो आउँदै गरेका दशैं, तिहार, छैठ जस्ता पर्वलाई केन्द्रमा राखेर आयोजना हुने भएको कारण सहभागि ब्राण्डहरुले नयाँ मोडल सार्वजनिक गर्ने कुरा नौलो होइन ।

यस वर्षको नाइमा मोविलीटी एक्स्पोमा एमजी, विलिङ, ओमोडा, जेको, आइकार, आरफक्स, निसान, हुन्डाई, महिन्द्रा, होन्डा, टोयोटा, लीपमोटर, केई, प्रोटोन लगायत ब्राण्डले मोविलीटी एक्स्पोमा सहभागिता जनाउँदै छन् ।

अटो शोमा सहभागि मध्ये प्रोटोन, आरफक्स र विलिङले कम मूल्यका विद्युतीय कार बजारमा ल्याउँदैछन् । यी तीन ब्राण्डले ल्याउने कारको मूल्य ४० लाख रुपैयाँभन्दा कमका हुनेछन् । त्यसमध्ये प्रोटोन इमास फाइभ र आरफक्स टी वान बजारमा राम्रै प्रभाव पार्न सक्ने मोडल हुन् ।

उसोत मिनी कार सेग्मेन्टमा अब्बल मानिएको विलिङको ४ ढोका भएको मिनी कारले पनि बजारमा राम्रै स्थान बनाउने अनुमान गरिएको छ । एसएआइसी ग्रुप अन्तर्गतको विलिङ ब्राण्डमा आउने ह्याचव्याक कारको मूल्य २० लाखभन्दा कम हुने बताइएको छ । त्यसैले विलिङ मिनी पनि आफ्नो सेग्मेन्टमा लिडर बन्ने योजनासँगै बजार प्रबेश गर्न लागेको हो ।

विलिङ मिनी ४ डोर

नाइमा मोविलिटी एक्स्पोमा रहने विलिङको सानो ह्याचव्याक कारको लम्बाइ ३२५६ एमएम छ । यसको चौडाइ १५१० एमएम, उचाइ १५७८ एमएम र ह्वीलवेस २१९० एमएम छ । ४ ढोका भएको मिनी ह्याचव्याकमा ४ जनाले आरामदायी यात्रा गर्न सक्छन् ।

रियर ह्वील ड्राइभ सिस्टम उपलब्ध कारमा ३० किलोवाट क्षमताको मोटर उपलब्ध हुनेछ । साथै, ब्याट्री भने दुई अप्सनमा आउने छ । सानो ब्याट्री १६.२ किलोवाट आवरको हुनेछ । ठूलो ब्याट्री भने २५.१ किलोवाट आवरको रहने छ ।

आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले यसको सुरुवाती मूल्य २० लाखभन्दा कम हुने यसअघि नै जनाएको छ ।

आरफक्स टी वान

लक्ष्मी इमोविलिटीले नेपाल ल्याउन लागेको नयाँ ब्राण्ड आरफक्स टी वान प्रिमियम ह्याचव्याक सेग्मेन्टमा आउने गाडी हो । यसको लम्बाइ ४३३७ एमएम छ । चौडाइ १८६० एमएम, उचाइ १५७२ एमएम र ह्वीलबेस २७७० एमएम लामो भएको कारण यो प्रिमियम सेग्मेन्टमा उपलब्ध ह्याचव्याक हुनेछ ।

आरफक्स टी वान पनि दुई ब्याट्री अप्सनमा आउने छ । यसमा ३३.४ किलोवाट आवर र ४२.३ किलोवाट आवरको दुई ब्याट्री रहने छ । यसमा रहेको ब्याट्रीलाई केबल १७ मिनेटमा ३० बाट ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दावी छ ।

सुरक्षाको लागि लेभल टु एडास, ५४० डिग्री क्यामेरा, अटो पार्किङ जस्ता फिचर यसमा छन् । यसको मूल्य ४० लाखभन्दा कम नै हुने अनुमान गर्न सकिन्छ ।

प्रोटोन इमास फाइभ

जगदम्बा मोटर्सले नेपाल ल्याउने प्रोटोन इमास फाइभ ह्याचव्याक सेग्मेन्टको लागि नयाँ र बलियो प्रोडक्ट हो । चीनमा विगत एक वर्षदेखि सर्वाधिक बिक्री हुने मोडलमा परेको ‘जिली इएक्स टु’लाई प्रोटोनको ब्याचमा इमास फाइभ भनेर यसलाई उपलब्ध गराइएको छ ।

प्रोटोन इमास फाइभको प्राइम भेरियन्टमा ३०.१२ किलोवाट आवर र प्रिमियम भेरियन्टमा ४०.१६ किलोवाट आवारको ब्याट्रीमा आउने छ । यसलाई २१ मिनेटमा ३० बाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

निकै प्रिमियम क्याविन र सुरक्षा फिचरमा अब्बल मानिएको प्रोटोन इमास फाइभमा ३६० डिग्री क्यामेरा, एडास, ६ एयरब्याग जस्ता फिचर छन् । फुल लोडेड ह्याचव्याक कारको रुपमा आउने इमास फाइभको मूल्य पनि ४० लाख भित्रै रहने छ ।


Back_to_top