काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले निर्माण व्यवसायीविरुद्ध निकै आवेगात्मक अभिव्यक्ति दिएका छन् ।
आइतबार निर्माणाधीन नागढुंगा-मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा उनले काम नगर्ने ठेकेदारलाई खोजेर ल्याएर खुट्टा भाँचेर भए पनि काम लगाउन निर्देशन दिएका हुन् ।
अनुगमनका क्रममा उनलाई बिजुलीको पोल स्थान्ततरण नहुँदा उक्त सडकको अपेक्षित रुपमा काम गर्न नसकिएको जानकारी गराइएको थियो । त्यसपछि उनले आक्रोशित हुँदै पोल हटाउन ढिलाइ गर्ने ठेकेदारप्रति कठोर अभिव्यिक्ति दिएका हुन् ।
‘यो बिजुलीको पोल सार्ने कन्ट्रयाक्टर धर्तीमा कहाँ छ, खोजेर लिएर यहीँ राख्नुस् । काम गर्दैन भने खुट्टा भाँच्दिनू, मतलब भएन,’ उनले निर्देशन दिँदै भनेका थिए ।
उनले जनताले काम छिटो होस् भन्ने चाहेको बताउँदै चाँडो काम गर्नुपर्ने बताए । उनले सडक निर्माणलाई गति दिनु बिजुलीको पोल सार्ने र आवश्यक निर्माण सामग्री उपलब्ध गराउन आफूले सहजीकरण गर्ने आश्वसन समेत दिएका छन् ।


