गण्डकी प्रदेशले आफैं लाइसेन्स छाप्ने, छुट्यायो ५ करोड बजेट

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि आफैं सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ गर्ने भएको छ ।

प्रदेश सरकारले आफैं लाइसेन्स छाप्न बजेट छुट्याएको हो । सोमबार प्रदेशका आर्थिक मामिलामन्त्री जित बहादुरु शेरचनले प्रदेश सभामा आव २०८३/८४ को बजेट पेस गर्दै लाइसेन्स छपाइका लागि ५ करोड रुपैयाँ विनियोजन गरेका हुन् ।

‘सवारीचालक अनुमतिपत्र प्रदेशबाटै छपाइ गर्नका लागि रू. ५ करोड विनियोजन गरेको छु,’ उनले भने । त्यस्तै, उनले विभिन्न कारणले कार्यालयमा स्वयम् उपस्थित हुन नसक्ने सेवाग्राहीको लागि आफू रहेकै स्थानबाट सवारी चालक अनुमतिपत्र नवीकरण गर्न आवश्यक व्यवस्था मिलाइने बताए ।

त्यस्तै, बजेटमा राइड शेयरिङ सेवाको व्यवस्थापन, नियमन तथा प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानूनी, प्राविधिक तथा संस्थागत प्रबन्ध गरिने उल्लेख छ ।

प्रदेश सरकारले उच्च ट्राफिक भएका सडकमा बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न रोड सेफ्टी अडिट र टेक्निकल अडिटका आधारमा सडक सुरक्षा पूर्वाधार कार्यक्रमलाई अगाडि बढाउने, प्रदेश भित्रका मुख्य बजार क्षेत्रमा नागरिकका लागि सहज हुने गरी उचित शुल्कमा यातायात सुविधा उपलब्ध गराउन तथा यात्रु चाप र आवश्यकताको आधारमा बसपार्क तथा यातायात पूर्वाधारको व्यवस्थापन सुधारका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने बताएको छ ।


Back_to_top