काठमाडौं । नेपालमा डबल पर्पस एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा प्रतिस्पर्धा थप रोचक बन्ने भएको छ । नेपालका लागि हिरोको आधिकारिक वितरक सीजी मोटर्सले नयाँ एक्सपल्स २१० नेपालमा बिक्री सुरू गरेसँगै यो सेग्मेन्टमा प्रतिस्पर्धा झन् कडा बन्ने भएको हो ।
डबल पर्पस एड्भेन्चर सेग्मेन्टमा धेरै मोटरसाइकल उपलब्ध भए पनि डिजाइन, मूल्य, फिचर र पावरट्रेनका आधारमा मुख्यगरी सीएफमोटो २५० डुअलसँग यसको सीधा प्रतिस्पर्धा हुने देखिन्छ ।
यी दुवै मोटरसाइकल अफरोड र दैनिक प्रयोगलाई लक्षित गरेर निर्माण गरिएका छन् । यहाँ हामीले एक्सपल्स २१० र सीएफमोटो २५० डुअल बीच तुलनात्मक विश्लेषण गरेका छौं ।
ब्राण्ड र बजार छवि
चिनियाँ प्रिमियम मोटरसाइकल निर्माता सीएफमोटो पछिल्लो समय नेपाली बजारमा लोकप्रिय बन्दै गएको छ । विशेषगरी ४५० एमटी एड्भेन्चर मोटरसाइकलको सफलताले ब्राण्डको छवि थप बलियो बनाएको छ। ३६ वर्षभन्दा बढीको उत्पादन अनुभव बोकेको सीएफमोटोले अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो उपस्थिति बनाइसकेको छ । नेपाली बजारमा सीएफमोटोका मोटरसाइकल ऋषि ट्रेड सेन्टरले बेच्दै आएको छ । 
भारतीय ब्राण्ड हिरो नेपालमा लामो समयदेखि स्थापित छ । ब्राण्ड लिगेसीले ग्राहकको विश्वास जितेको छ । देशभर व्यापक रुपमा सर्भिस नेटवर्क विस्तार गरेको छ । जसले ग्राहकप्रति निरन्तर प्रतिबद्ध रहँदै सेवामार्फत मन जितिरहेको छ । यो हिरोको बलियो पक्ष हो । यसको सहरदेखि ग्रामीण क्षेत्रसम्म पहुँच राम्रै छ । नेपालमा हिराेकाे माेटरसाइकल सीजी मोटर्सले बिक्री गर्दै आएको छ ।
डिजाइन र अफरोड डीएनए
दुवै मोटरसाइकल डबल पर्पस एड्भेन्चर सेग्मेन्टमा पर्छन् । यी मोडल अफरोडका लागि मात्रै नभइ सहरमा पनि चलाउन मिल्ने हिसाबले डिजाइन गरिएको छ ।
दुवैमा उच्च ग्राउण्ड क्लियरेन्स, अग्लो ह्याण्डलबार, वायर स्पोक ह्वील, डुअल पर्पस टायर र लामो ट्राभल सस्पेन्सन जस्ता विशेषताले अफरोड क्षमतालाई प्राथमिकता दिएको देखिन्छ।
एक्सपल्स २१० मा अगाडिको भागमा विन्डस्क्रीन उपलब्ध छ, जसले लामो दूरीको यात्रामा हावाको प्रभाव कम गर्छ । २५० डुअल भने बढी अफरोड केन्द्रित नेकेड स्टाइल डिजाइनमा छ ।
इन्जिन र पर्फमेन्स
एक्सपल्स २१० मा २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्ब, एलसी, लिक्विड कुल्ड, एफआई, बीएस ६ इन्जिन दिइएको छ । यो इन्जिनले अधिकतम २४.६ पीएस पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ ।

२५० डुअलमा २४९ सीसी सिंगल सिलिण्डर, लिक्विड कुल्ड, डीओएचसी, फोर भल्ब, युरो ५ इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम २४.४ पीएस पावरका तथा २२.५ एनएम टर्क जेनेरेट गर्छ । दुवै मोटरसाइकलमा ६ स्पीड गियरबक्स छ ।
पावर लगभग समान भए पनि सीएफ मोटोले बढी टर्क उत्पादन गर्ने भएकाले उकालो, कच्ची बाटो र डबल लोड बोकेर यात्रा गर्दा एक्सपल्स भन्दा अतिरिक्त फाइदा दिन सक्छ ।
तौल र अफरोड क्षमता
१५४ किलोग्राम तौल रहेको डुअल २५० को लम्बाइ २१२० एमएम, चौडाइ ९१० एमएम, उचाइ १२२५ एमएम, ह्वीलबेस १४१५ एमएम र ग्राउण्ड क्लियरेन्स २४५ एमएम छ ।
एक्सपल्स २१० को लम्बाइ २२५४ एमएम, चौडाइ ८८४ एमएम, उचाइ १३४८ एमएम र ह्वीलबेस १४४६ एमएम छ । यसको ग्राउण्ड क्लियरेन्स २२० एमएम छ भने तौल १७० किलोग्राम रहेको छ ।
करिब १६ केजी हल्का र ग्राउण्ड क्लियरेन्स अलि हाई भएकाले डुअल २५० अफरोड ट्रेल, बालुवा, हिलो तथा ढुंगायुक्त बाटोमा नियन्त्रण गर्न सजिलो मानिन्छ । एक्सपल्स २१० अलि भारी भएकाले कठिन हुन सक्छ ।
अन्य फिचरहरू
दुवै मोडलमा डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, डबल पर्पस टायर र वायर स्पोक ह्वील दिइएको छ । एक्सपल्स २१० को फ्रन्टमा फुल्ली एड्जस्टेबल यूएसडी फोर्क र रियरमा मोनोशक सस्पेन्सन छ । सीएफमोटो २५० डुअलको फ्रन्टमा अपसाइड डाउन यूएसडी फोर्क र रियरमा एड्जस्टेबल मोनोशक सस्पेन्सन छ । दुवै लङ ट्राभल सस्पेन्सन सेटअप हो ।
एक्सपल्समा इन्ड्यूरो स्टाइल टेल सेक्सन, स्वीचएबल एबीएस मोड सिस्टम, ट्याकोमिटर, ओडोमिटर, गियर पोजिसन इण्डिकेटर र टर्न बाइ टर्न नेभिगेसन देखिने ४.२ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्ट कनेक्ट फिचर, यूएसबी चार्जिङ पोर्ट र एलईडी लाइट जस्ता फिचरहरू छन् ।

२५० डुअलमा स्पिडोमिटर, ट्रिप, गियर इण्डिकेटर, ईन्धन गेज आदिको जानकारी देखाउने एलसीडी डिजिटल कन्सोल, एलईडी लाइट, यूएसबी चार्जिङ पोर्ट, स्विचेबल एबीएस सिस्टम र साइड स्ट्यान्ड सेफ्टी स्विच जस्ता फिचरहरू छन् । फिचरका हिसाबले एक्सपल्स केही अगाडि छ । सीएफमोटोको डुअलभन्दा यसमा धेरै टेक फिचर छन् ।
मूल्य
नेपाली बजारमा एक्सपल्सभन्दा डुअलको मूल्य ५० हजार रुपैयाँले कम छ । सीजी मोटर्सले एक्सपल्स २१० मोटरसाइकल ६ लाख मूल्य तोकेर बिक्री सुरू गरेको हो । त्यस्तै, सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले डुअल २५० मोटरसाइकल ५ लाख ५० हजार रुपैयाँ मूल्य तोकेर बिक्री गरिरहेको छ ।
नेपालको एड्भेन्चर मोटरसाइकल बजारमा हिरो एक्सपल्स २१० र सीएफमोटो २५० डुअल दुवैले आ-आफ्नो विशेषता बोकेका छन् । राइडरले आफ्नो आवश्यकता, बजेट र प्रयोगमा निर्भर रहेर छनोट गर्दा उचित हुने देखिन्छ ।


