काठमाडौं । रसुवागढी भन्सार नाका हुँदै विद्युतीय सवारी साधन आयात गर्दा लापारबाही भएको पाइएको छ ।
अर्थ मन्त्रालयले भन्सार विभागका निर्देशकको नेतृत्वमा गठन गरेको अनुगमन टोली उक्त नाका हुँदै ईभी आयात गर्दा चरम लापारबाही भएको भेटाएको हो ।
बजेट अघि नै कर बढ्ने हल्ला चुहाएर व्यवसायीले ठूलो संख्यामा सवारी साधन आयात गरेको भन्दै प्रश्न उठेपछि अर्थ मन्त्रालयले अनुगमन समिति गठन गरेको थियो । उक्त समितिले स्थलगत अध्ययन गर्दा रसुवागढी भन्सारबाट लापारबाही भएको भेटाएको हो । मुस्ताङ भन्सारबाट ईभी आयात गर्दा भने कैफियत नदेखिएको समितले उल्लेख गरेको छ ।
रसुवा भन्सार कार्यालयबाट ईभी आयात गर्दा कर्मचारीहरूले पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा नगरेको र कतिपय सवारी भन्सारमा नआइपुग्दै कागजातका आधारमा जाँचपास गरेको पाइएको हो ।
‘रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारी साधनको भन्सार जाँचपास गर्ने क्रममा कर्मचारीहरूबाट पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको अनुगमन टोलीको प्रतिवेदनले औंल्याएको छ । अनुगमन टोलीले प्रज्ञापनपत्र, कार्यालयको अभिलेख लगायतको विषयमा स्थलगत अध्ययन गर्दा कतिपय सवारी साधनहरू भन्सारमा भौतिक रूपमा आइ नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको फेला पारेको छ,’ भन्सार विभागले भनेको छ ।
यसरी कानूनी प्रक्रिया पूरा नगरेको देखिएकोले अर्थ मन्त्रालयले रसुवा भन्सारमा कार्यरत तत्कालीन कार्यालय प्रमुख सहित १३ जना कर्मचारीहरूलाई तत्काल निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाएको छ।
साथै, सो कार्यमा संलग्न विद्युतीय सवारी आयातकर्ताहरू लक्ष्मी ईमोबिलिटी, साइमेक्स इंक, सीजी मोटर्स, पूजा इन्टरनेसन, पूजा कन्स्ट्रक्सन, एजेन्ट नम्बर २४८, एजेन्ट नम्बर ८३३, एजेन्ट नम्बर ४७८ लगायतका भन्सार जाँचपास प्रतिनिधिहरूलाई प्रचलित भन्सार कानून बमोजिम कारबाहीका पत्र पठाइएको विभागले जनाएको छ ।
मुस्ताङ भन्सारबाट जेठ १२ र १३ गते जाँचपास भएका कुल ६४९ वटा सवारी भने नियम अनुसार नै आयात भएको समितिको निष्कर्ष छ । अनुगमन समितिले ९ वटा प्रज्ञापनपत्र, भन्सारको अभिलेख र सीसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा सबै सवारी नेपाल प्रवेश गरिसकेपछि मात्रै जँचपास भएको पाएको थियो ।


