सीएटीएलले पातलो ब्याट्री सेल बनाउने

काठमाडौं । विश्वकै ठूलो ब्याट्री निर्माता सीएटीएलले कम उचाइ भएका इलेक्ट्रीक स्पोर्ट्स सेडान कारका लागि उपयुक्त हुने गरी ब्याट्री सेल डिजाइन गरेको छ । चिनियाँ सञ्चार माध्यम सिनाका अनुसार कम्पनीले सेलको संरचनामै परिवर्तन गरेर ब्याट्री प्याक पातलाे बनाएको हो ।

सामान्यतया विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्री प्याकको मोटाइ बढी हुँदा कम उचाइका कार डिजाइन गर्न चुनौती हुँदै आएको थियो । अब त्यो समस्या समाधन गर्नेगरी सीएटीएलले पातलो ब्याट्री प्याक डिजाइन गरेको हो ।

ब्याट्री प्याक मोटो हुँदा स्पोर्टी सेडान कारको रूफलाइन माथि उठाउनुपर्ने वा पछाडिको सिटको आराममा सम्झौता गर्नु पर्ने भएको कारण पातलो ब्याट्री प्याक तयार परिएको सीएटीएलले जनाएको छ ।

चिनियाँ ब्याट्री उत्पादकले पातलो ब्याट्रीको नयाँ पेटेन्ट दर्ता गराइसकेको छ । जहाँ टर्मिनल कभर असेंब्लीमुनि नै ‘थिन्ड जोन’ अर्थात् पातलो भाग समावेश गरिएको छ। यसले सेलभित्र रहेका इलेक्ट्रोड ट्याबहरूलाई बाहिरी धातु आवरणसँग ठोक्किन नदिई अझ कम्प्याक्ट रूपमा मोड्न मिल्ने बनाउँछ।

सीएटीएलको दाबीअनुसार नयाँ ब्याट्री डिजाइनले प्याकेजिङमा मात्र फाइदा नभइ सुरक्षामा पनि मजबुत बनाउँछ । इलेक्ट्रोड ट्याब र बाहिरी मेटल हाउजिङ बीच अनावश्यक सम्पर्क हुन नदिँदा सडक कम्पन वा झट्का लाग्दा माइक्रो सर्ट सर्किट हुने जोखिम कम हुन्छ।

विशेषगरी ‘लो-स्लङ’ परफर्मेन्स कारमा ब्याट्री प्याकको मोटाइले सिर्जना गर्ने समस्या कम गर्दै कारको क्याबिन स्पेस ठूलो राख्न यो प्रविधि उपयोगी हुन सक्छ।


Back_to_top