फ्लाइ दुबईले असोज ७ देखि पोखरामा दैनिक उडान गर्ने

काठमाडौं । संयुक्त अरब इमिरेट्सको ध्वाजवाहक फ्लाइ दुबईले आगामी असोज ७ गने (सेम्टेम्बर २३) देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ । कम्पनीले दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा पोखरा उडान गर्ने तालिका सार्वजनिक गरेको हो ।

योसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने फ्लाइ दुबई पहिलो एयरलाइन्स कम्पनी समेत हुनेछ । यसअघि केही एयरलाइन्सले  पाेखरामा चार्टर्ड उडान गरे पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

दुबई-पोखरा-दुबई रुटमा दैनिक उडान हुने एयरलाइन्सले जनाएको छ । उडान तालिका अनुसार सेप्टेम्बर २३ देखि अक्टोबर २४ सम्म दुबईबाट दिउँसो १२ बजे ( स्थानीय समय) उडेको विमान साँझ ६ः१५ बजे पोखरा विमानस्थलमा अवतरण गर्नेछ । सोही जहाज साँझ ७ः१५ बजे पोखराबाट दुबईका लागि उड्ने छ भने राति १०ः२० बजे दुबई पुग्नेछ ।

त्यस्तै, अक्टोबर २५ देखि मार्च मार्च २७ सम्म दुबईबाट मध्याह्न १२ बजेट पोखरा उड्ने र पोखराबाट साँझ ७ बजे दुबई उड्ने तालिका रहेको छ ।

‘आगामी सेम्टेम्बर २३ देखि हामी दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि दैनिक उडानहरू सुरु गर्दैछौँ । संयुक्त अरब इमिरेट्सबाट यो नयाँ मार्गमा सेवा प्रदान गर्ने हामी पहिलो वायुसेवा कम्पनी हुनेछौँ, जसले तपाईंलाई हिमालयको देशको दोस्रो ठूलो सहर र पर्यटकीय राजधानीमा पहुँच गराउनेछ,’ एयरलाइन्सले भनेको छ ।

दुबई पोखरा सिधा उडान सुरू हुने भएसँगै रोजगारी तथा व्यापारका लागि जाने नेपाली र नेपाल आउने पर्यटकका लागि सहज हुनेछ । साथै, पोखराको व्यापार तथा पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।


Back_to_top