नाडा अटो शोमा आउँदै थाइल्याण्डमा बनेको निभो क्यू-०५ एसयूभी

काठमाडौं । एमएडब्लू वृद्धिले नेपालमा चांगान ग्रुप अन्तर्गतको दोस्रो इलेक्ट्रीक ब्राण्ड निभो भित्र्याउने भएको छ । हाल दीपलका गाडी बेच्दै आएको कम्पनीले अब चाँडै निभो ब्राण्डका विद्युतीय सवारी बिक्री गर्ने भएको हो ।

कम्पनीले थाइल्याण्डमा हालै बिक्री सुरू भएको निभो क्यू-०५ इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने भएको हो । यो इलेक्ट्रीक एसयूभी आगामी भदौ ९ गतेदेखि सुरू हुने नाडा अटो शो मार्फत नेपालमा बिक्री सुरू हुनेछ ।

एमएडब्लू वृद्धीले नाडा अटो शोलाई लक्षित गर्दै निभो क्यू-०५ नेपाल ल्याउने तयारी गरेको स्रोतले जनाएको छ । थाइल्याण्डमा सार्वजनिक गरिएको स्पेकअनुसार निभो क्यू-०५ फ्रन्ट ह्वील ड्राइभ मोटरमा आउने छ । प्योर इलेक्ट्रिक प्लेटर्फमा बनेको क्यू-०५ एसयूभीमा १२० किलोवाट क्षमताको मोटर दिइएको छ । यसको पीकटर्क भने १९० एनएम छ ।

पारिवारिक एसयूभी क्यू-०५ लाई पावर सप्लाइ गर्न ५१.९ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक दिइएको छ । जसले एनईडीसी टेस्टमा ६४२ किलोमिटर रेन्ज दिने देखाएको छ । सम्भवतः नेपाली सडकमा ३५० किलोमिटर आसपासको रेन्ज पाउन सकिन्छ ।

चार्जिङतर्फ पनि निभो क्यू-०५ आकर्षक देखिन्छ । थाइल्याण्डमा बिक्री हुँदै आएको मोडलले १६० किलोवाटसम्मको फास्ट चार्जिङ सपोर्ट गर्छ । जसको मद्दतले ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न केबल १५ मिनेट लगाउने छ । यसले एसी चार्जर भने ६.६ किलोवाटसम्म सपोर्ट गर्छ ।

साइजका हिसाबले निभो क्यू-०५ को लम्बाइ ४४३५ एमएम, चौडाइ १८५५ एमएम र उचाइ १६०० एमएम छ । यसमा ह्वीलबेस भने २७३५ एमएम लामो पाउन सकिन्छ । विशेषगरी शहरी क्षेत्र र हाइवेमा समेत राम्रोसँग प्रयोग गर्न मिल्ने एसयूभी बनाएको छ ।

बाहिरबाट आकर्षक देखिने एसयूभीको इन्टेरियर पनि निकै स्मार्ट छ । यसमा १४.६ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, कनेक्टेड कार टेक्नोलोजी, फराकिलो क्याबिन लेआउट र दैनिक प्रयोगलाई सहज बनाउने स्मार्ट इन्टरफेस समावेश छन् ।

चांगानले थाइल्याण्डमा बनाएको निभो क्यू-०५ एसयूभीमा एडास प्याकेज उपलब्ध गराएको छ । एडास भित्र एडप्टिभ क्रुज कन्ट्रोल, लेन असिस्ट, अटो इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट मनिटरिङ जस्ता सुरक्षा फिचर छन् ।

नेपाली बजारका लागि निभो क्यू-०५ विस्तारै चासो बढ्दै जाने मोडल बन्न सक्ने देखिन्छ । दीपलको एसयूभीहरूको लाइनअपमै राखेर बिक्री गर्ने मोडल साइजमा मध्यम आकार भएकाले यो स्मार्ट बन्न सक्छ ।


Back_to_top