काठमाडौं । सुदूरपश्चिम प्रदेशको महत्त्वकांक्षी परियोजना जालपादेवी केबलकार निर्माण तीव्र भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडा क्षेत्रमा केबलकार र यस परियोजना अन्तर्गत विभिन्न पूर्वाधार धमाधम बनिरहेका हुन् ।
आइएमई समूहको मुख्य लगानीमा बन्न लागेको यस परियोजनालाई सुदूरपश्चिमको पर्यटन र आर्थिक विकासका लागि महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ । विभिन्न चरणमा गरी करिब ६ अर्ब लगानी अनुमान गरिएको परियोजनामा ३.१ किलोमिटर लामो केबलकार, होटल, रेष्टुरेन्ट, स्काइवाक, पार्क, पदमार्ग तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन् ।
यो परियोजना विसं २०८१ पुुस १३ मा शिलान्याश भई गत वर्ष असारमा निर्माण सुरू भएको थियो । आयोजनाका इन्जिनियर विजय पौडेलका अनुसार परियोजनाको निर्माणकार्य हाल तीव्र गतिमा अघि बढिरहेको छ । हाल यहाँ पोल ठड्याउने, बटम तथा टप स्टेशन निर्माणलगायतका काम अन्तिम चरणमा छन् । त्यसपछि तार तान्ने र गोण्डोला जडान गर्ने प्राविधिक प्रक्रिया अघि बढ्नेछ । यो केबलकार आगामी असोजदेखि संचालनमा ल्याउने योजना छ ।
‘हामी तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ । आगामी असोजसम्म परियोजना संचालनमा ल्याउने तयारी छ । सो लक्ष्यसहित प्रथम चरणका काम धमाधम गरिरहेका छौँ,’ उनले भने,। ‘पोल ठड्याउने (इरेक्सन), बटम तथा टप स्टेशन निर्माणको काम सम्पन्न हुने क्रममा छ । त्यसलगत्तै तार तान्ने (स्ट्रिङगिङ) र गोण्डोलाहरू जडान गर्ने प्राविधिक काम अगाडि बढ्नेछन् ।’
हाल टप स्टेशनमा होटल, रेष्टुरेन्ट, पार्क, जालपादेवी मन्दिर, स्काई वाक, वाकिङ ट्रेल तथा अन्य पर्यटकीय संरचना निर्माण भइरहेका छन् भने बटम स्टेशनमा पाँचतारे होटल, ब्यान्क्वेट हल र अन्य सुविधायुक्त संरचना तयार हुँदैछन् । ‘यहाँ निर्माण भइरहेका पूर्वाधारले यस क्षेत्रलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नेछन्,’ उनले भने ।
जालपादेवी केबलकार प्रालि तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल यसलाई केवल पर्यटन परियोजना नभई आर्थिक रूपान्तरणको माध्यमका रूपमा हेर्नुपर्ने बताउँछन् । ‘नेपालमा पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्न सके मात्र पर्यटकको सङ्ख्या बढाउन, उनीहरूको बसाइँ लम्ब्याउन र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन सकिन्छ । त्यसलाई मध्यनजर गरी बनाउन लागिएको यो आयोजना सुदूरपश्चिमको आर्थिक समृद्धिको संवाहक बन्नेछ भन्नेमा हामी विश्वस्त छौँ,’ उनले भने । अध्यक्ष ढकालका अनुसार जालपादेवी केबलकार देशभर पर्यटन पूर्वाधार विस्तार गर्ने दीर्घकालीन सोचको एक महत्त्वपूर्ण अध्याय हो ।
यस परियोजनाले सुदूरपश्चिमको आर्थिक भविष्यको ‘जग’ हाल्नुका साथै चिसापानीलाई नेपालकै आकर्षक पर्यटन गन्तव्यका रुपमा स्थापित गर्ने धेरैको विश्वास छ । त्यसैले यसलाई एउटा पूर्वाधार मात्र होइन, सुदूरपश्चिमको पर्यटन, रोजगारी र आर्थिक विकाससँग जोडिएको ठूलो सपनाका रुपमा हेर्ने गरिएको छ ।
जालपादेवी केबलकार परियोजनाले स्थानीय स्तरमै रोजगारी समेत सेजना गर्नेछ । केबलकार सञ्चालनसँगै होटल, रिसोर्ट, रेष्टुरेन्ट, यातायात, मनोरञ्जन तथा सेवा क्षेत्र विस्तार हुनेछन् । ती गतिविधिबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौँ रोजगारी सिर्जना हुने व्यवसायीको अपेक्षा छ ।
परियोजनाका लागि यहाँको भूगोल महत्त्वपूर्ण छ । खुला सीमा, सहज सडक सञ्जाल र विशाल भारतीय बजारको निकटताले यस क्षेत्रलाई अन्तरदेशीय पर्यटन केन्द्रका रूपमा विकास गर्न सक्ने सम्भावना छ । भारतसँगको खुला सीमा, निकट बजार र सहज यातायात पहुँचका कारण यस क्षेत्रको सम्भावना निकै ठूलो छ । उत्तराखण्ड र उत्तरप्रदेशजस्ता दुई ठूला भारतीय राज्यसँग हाम्रो प्रत्यक्ष पहुँच छ, जहाँ २७ करोडभन्दा बढी जनसङ्ख्या बसोबास गर्छ । दिल्ली, लखनऊ, बरेली, देहरादुनलगायतका सहरबाट सडकमार्ग हुँदै सहज रूपमा यहाँ पुग्न सकिन्छ ।
कञ्चनपुरको गड्डाचौकीबाट १२५ किमी, कैलालीको गौरीफन्टाबाट करिब ८८ किमी र बाँकेको रुपैडिहा नाकाबाट ९३ किमी सहज सडक पहुँच भएकाले यो क्षेत्र सीमावर्ती भारतीय पर्यटकका लागि पनि आकर्षक गन्तव्य बन्न सक्ने देखिन्छ । यस्तै, टीकापुरस्थित सत्ति छोटी भन्सार र तीकुनिया क्षेत्र पनि नजिकै रहेकाले विशेषगरी गर्मी मौसममा राहत खोज्ने भारतीय पर्यटकका लागि राजकाँडाको शीतल वातावरण, कर्णाली नदीको मनोरम दृश्य, रोमाञ्चक केबलकार यात्रा र धार्मिक पर्यटन विशेष आकर्षण बन्न सक्छ ।


