काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’मा ४० बढी नयाँ प्रोडक्ट सार्वजनिक गरिने भएको छ ।
नाइमाले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । नाइमा मोबिलिटी एक्स्पोका संयोजक गौरव शाराडाले मोबिलिटी एक्स्पोमा सवारी साधन तथा अन्य उत्पादन गरी ४० बढी नयाँ प्रोडक्ट लन्च गरिने जानकारी दिए ।
उनका अनुसार नाइमामा नयाँ मोटरसाइकल, स्कुटर, कार, कमर्शियल भेहिकल लन्च हुनेछन् । साथै, ब्याट्री, चार्जर, स्पेयर पार्टस लगायत प्रोडक्ट लन्च गरिने उनको भनाइ छ ।
उनले मोबिलिटी एक्स्पोको तयारी तीव्र रुपमा भइरहेको बताए । अवलोकनकर्ताको सुविधाका लागि नेपाल पुलिस क्लबमा पार्किङको व्यवस्था गरिएको बताए ।
साथै, टिकटमा ५० प्रतिशत छुट, लर्निङ सेसन, फुड कोर्ट, पठाओद्धारा विशेष छुटमा सटल सेवा लगायत व्यवस्था गरिएको नाइमाले जनाएको छ ।
यस वर्षको नाइमा मोबिलिटी एक्स्पोमा दुईपाँग्रे, चारपाँग्रे र कमर्शियल गरी ५५ ब्राण्डको सहभागिता रहने छ । मोबिलिटी एक्स्पोमा टाटा, आरफक्स, बीएआइसी, बीवाइडी, सिट्रोन, डेन्जा, फरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स र एमजी (पारामाउन्ट मोटर्स) सहभागि हुँदैछन् ।
त्यस्तै, निसान, हुन्डाई, महिन्द्रा, आइकार, ओमोडा/जेको, प्रोटोन, केई, किया, लीपमोटर, मेक्सस्, एमजी (गो अटोमोबाइल), होनरी बोमा, प्यूजो, टोयोटा, विलिङ, जिकर सहभागी हुनेछन् ।
दुईपाङ्ग्रे ब्राण्डमा एथर, बजाज, सीएफ मोटो, जिहो, ग्यारो, होन्डा, क्यारन, केटीएम, मोर्बिडेली, एनआइयु, प्यूजो एण्ड बेगुस, रोयल इनफिल्ड, सुजुकी, ट्रायम्फ, टिभीएस, अल्ट्राभोइलेट, याडिया र जेडएक्स मोटो सहभागि हुँदैछन् ।
लाइट कमर्शियलतर्फ चेरी वान्डा, क्यारी, किटोन र स्काइवर्थ ब्राण्डको सहभागिता रहने छ ।


