प्रिमियम एसयूभीको रूपमा कमब्याक गर्दै ‘टाटा सुमो’

काठमाडौं । टाटा मोटर्सले आफ्नो इतिहासकै सबैभन्दा लोकप्रिय र लामो समयसम्म टिकेको टाटा सुमोलाई पुनः बजारमा ल्याउने भएको छ ।

कम्पनीले सुमोलाई साधरण गाडी मात्र नभएर एक प्रिमियम एसयूभीको रूपमा ब्युँत्याउने सम्भावना बलियो बनेको हो ।

टाटा मोटर्सले मार्च २०३१ सम्ममा १० वटा नयाँ कारहरू बजारमा ल्याउने योजना सार्वजनिक गरिसकेको छ। जसमा ६ वटा आइस र ४ वटा ईभी मोडल रहेका छन् । सोही क्रममा टाटाले सुमोलाई विल्कुलै फरक र आधुनिक डिजाइनमा प्रस्तुत गर्ने रणनीति बनाएको हो।

सन् १९९४ मा पहिलो पटक सार्वजनिक गरिएको टाटा सुमो सन् २०१९ मा उत्पादन बन्द भएको थियो । यो महिन्द्रा बोलेरोको मुख्य प्रतिद्वन्द्वी समेत थियो ।

टाटाले गत वर्ष मात्र सिएरा मोडललाई ब्युँताएको थियो । अहिले सुमोका लागि पनि यस्तै योजनामा विचार गरिरहेको हुन सक्ने भारतीय मिडयाले उल्लेख गरेका छन् ।

नयाँ सुमोको बाहिरी डिजाइन पुरानै आइकोनिक डिजाइनसँग मिल्दोजुल्दो हुने भए पनि क्याबिन फिचर आधुनिक र प्रविधियुक्त हुनेछ । नयाँ सुमो विशेष गरी सहरी चालकहरूलाई लक्षित गरिने छ।

स्रोतका अनुसार टाटा मोटर्सले अहिले एउटा नयाँ कम्प्याक्ट एसयूभीमा काम गरिरहेको छ । जसलाई कम्पनीले ‘टाटा स्कारलेट’ कोडनाम दिएको छ। आकार र मूल्यका हिसाबले यसलाई टाटा नेक्सन र सिएराको बीचमा राखिनेछ। यो गाडीमा क्लासिक एसयूभी जस्तै वर्गाकार बाहिरी बनावट, उच्च ग्राउन्ड क्लियरेन्स र मस्कुलर लुक्स देख्न पाइनेछ।

यो गाडी मोनोकक प्लेटफर्ममा आधारित हुने भएकाले यसले कठिन अफ रोड भन्दा पनि सडकमा उत्कृष्ट सन्तुलन, आराम र बढी माइलेज दिनेछ। यो प्लेटफर्म आगामी पुस्ताको नेक्सन वा सिएराको अर्गोस प्लेटफर्ममा आधारित हुनेछ भन्ने कुरा अझै प्रष्ट भइसकेको छैन ।

यदि टाटा मोटर्सको यो योजना अघि बढेमा सन् २०२७ को अटो एक्सपोमा सुमोको नाममा यस ‘स्कारलेट’ एसयूभीको कन्सेप्ट मोडल प्रदर्शन गर्ने सम्भावना छ ।


Back_to_top