टीभीएसले बिक्रीमा बनायो नयाँ रेकर्ड, शीर्ष स्थानमा उक्लियो

काठमाडौं । भारतीय दुईपाँग्रे सवारी साधन उत्पादक टीभीएस मोटर्सले बिक्रीमा नयाँ रेकर्ड बनाएको छ । टीभीएसले एक महिनामै विश्व बजारमा साढे ५ लाख युनिट बढी मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै नयाँ रेकर्ड बनाएको हो ।

कम्पनीले सन् २०२६ को जुन महिनामा कुल ५ लाख ६५ हजार ४१७ युनिट सवारी बिक्री गरेको हो । टीभीएस जुनमा विश्व बजारमा सबैभन्दा धेरै दुईपाँग्रे सवारी बेच्ने टु ह्वीलर ब्राण्ड बनेको हो । टीभीएसले गत वर्षको सोही अवधिको तुलनामा बिक्री ४७ प्रतिशतले बढाएको हो ।

कम्पनीले जुनमा बिक्रीमा हिरो र होण्डा ब्राण्डलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । टीभीएसले पछाडि पारेको हिरो र होण्डा भने क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । दोस्रो स्थानमा पुगेको हिरो मोटोकर्पले जुन महिनामा कुल ५ लाख ४१ हजार १५९ युनिट बिक्री गर्न सफल रह्यो । तेस्रो स्थानमा रहेको होण्डाले ५ लाख २८ हजार २८१ युनिट बिक्री गरेको छ ।

समीक्षा अवधिमा हिरोको बिक्री २.३ प्रतिशतले घटेको छ भने होण्डाको २६ प्रतिशतले बढेको छ ।


Back_to_top