‘कर्णालीका सबै पालिका केन्द्र पुग्ने सडक ३ वर्षमा दुई लेनको, यसै वर्ष टेन्डर’

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडक ३ वर्ष भित्र दुई लेनमा स्तरोन्नति गर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले कर्णालीमा सडक र पुल निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन् ।

उनले यसै आर्थिक वर्षमा कर्णालीका पालिका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र लागत अनुमान तयार गरी काम सुरू गर्ने बताए ।

‘कर्णालीका सबै पालिका केन्द्रसम्म सडक संजाल पुगेको छैन । कच्ची छ । सुरक्षित छैन । सबै पालिका केन्द्र र जिल्ला सदरमुकाम पुग्ने हाल भएका एक लेनका सडकलाई ३ वर्षभित्र दुई लेनमा विस्तार गर्ने सरकारको लक्ष्य छ,’ उनले भने, ‘यसै आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र लागत अनुमान तयार गरी काम सुरु गरिनेछ ।’

उनले कर्णालीका सडक संजाल नपुगेका वा कच्ची सडक रहेका पालिका केन्द्रसम्म सुरक्षित सडक पुर्याउन पर्याप्त बजेट विनियोजन गरिएको बताए । साथै, यसै वर्ष टेन्डर प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

उनले हाल निर्माणाधीन सडक खण्डमा करिब ९ वटा पुलहरू ‘डिजाइन एण्ड बिल्ड’ विधिबाट अगाडि बढाउने प्रक्रियामा रहेको बताए । उनले कर्णालीका सडकको वास्तविक अवस्था बुझ्न आगामी साउन ३ गते स्थलगत निरीक्षणमा जान लागेका जानकारी समेत दिए ।


Back_to_top