काठमाडौं । चिनियाँ अटोमोबाइल ग्रुप जिली होल्डिङको स्वामित्वमा रहेको पोलस्टार-४ दक्षिण कोरियामा उत्पादन हुने भएको छ । स्विडिस उत्पादकले दक्षिण कोरियामा रहेको रेनोको प्लाण्टबाट पोलस्टार एसयूभी उत्पादन गर्ने भएको हो ।
पोलस्टार स्विडिस कम्पनी हो । यसको स्वामित्व भने जिलीले खरिद गरेको छ । कम्पनीले ल्याउन लागेको पोलस्टार-४ धेरै हदसम्म भोल्भो भी-६० एसयूभी जस्तै देखिन्छ । कम्पनीले नयाँ एसयूभी टिकाउ, पर्फमेन्समा आधारित र उत्कृष्ट डिजाइनमा रहने जनाएको छ ।
सेप्टेम्बर २ तारिखबाट विश्व बजारमा आउने पोलस्टार-४ लाई कम्पनीले ४०० भोल्ट आर्किटेक्चरमा विकास गरेको हो । जिलीको सस्टेनेबल एक्सपेरियन्स आर्किटेक्चर प्रयोग हुने एसयूभीमा २०० किलोवाटको रियर ह्वील ड्राइभ मोटर र ४०० किलोवाटको अल ह्वील ड्राइभ मोटर उपलब्ध हुनेछ ।
कम्पनीले मोटर दुई क्षमताको दिए पनि ब्याट्री भने समान १०० किलोवाट आवरको दिनेछ । यसको डब्लूएलटीपी रेन्ज ५९० देखि ६२० किलोमिटरको बीचमा रहने कम्पनीको दाबी छ ।


