कारको मामलामा अन्य खेलाडीभन्दा फरक ह्यारी केन

काठमाडौं । ह्यारी केन विश्व फुटबलमा चिनाइ राख्नु पर्ने नाम होइन । वास्तविक जीवनमा तुलनात्मक रूपमा कम बोल्ने स्वभावका केन फुटबल मैदानमा भने गज्जबले खेल कौशलको माध्यमबाट बोल्छन् ।

बेलायतको राष्ट्रिय टोलीका कप्तान ह्यारी केन अन्य स्टार खेलाडीभन्दा फरक लाग्छन् । त्यसैले उनको कारप्रतिको मोह पनि अन्य स्टारहरूकोभन्दा विल्कुलै फरक छ । त्यसोत उनी कारका सौखिन होइनन् भन्न खोजिएको होइन ।

केन हाइपरकारहरूमा रुची राख्दैनन् । उनको छनोटमा लक्जरीसँगै दैनिक प्रयोग गर्न सजिलो हुने पारिवारिक कार पर्ने गर्छ । त्यसैले उनले आफ्नो ग्यारेजमा लक्जरी कारको लामै सूची राखेका छन् । त्यसमा सुपरकार भने छैन ।

अन्तर्राष्ट्रिय मिडियाहरूले गरेको रिपोर्टिङ अनुसार ह्यारी केनसँग अउडी क्यू-८ ई ट्रोन, बेन्टले कन्टिनेन्टल जीटी सुपरस्पोर्ट, ज्यागुअर एफ-पेस, रेन्ज रोभर एसभी अटोबायोग्राफी र रेन्ज रोभर स्पोर्ट्स एसभीआर जस्ता मोडल छन् । उनीसँग भएको सबैभन्दा महँगो कार बेन्टले ब्राण्डको हो ।

त्यसैले मिडियाहरूले उनलाई आरामदायी कारको सौखिन मान्छन् । सन् २०२३ मा टोटेनहाम हस्पर छाडेर बार्यन म्युनिख पुगेका केन विश्वका उत्कृष्ट स्ट्राइकर मध्येका एक खेलाडी हुन् । उनले आफ्नो खेल जीवनमा देश र क्लबको लागि ५०० भन्दा बढी गोल गरिसकेका छन् । चालु विश्वकपमा पनि उत्कृष्ट लयमा रहेका केनले ६ गोल गरिसकेका छन् । उनकै नेतृत्वमा इंग्ल्याण्ड टप ८ भित्र अटाइसकेको छ ।


Back_to_top