काठमाडौं । चिनियाँ स्टार्टअप अटो कम्पनी लीपमोटरले अपडेटेड बी १० एसयूभीको बुकिङ खुलाएको छ ।
कम्पनीले चाँडै लन्च गर्ने तयारी गरेको नयाँ बी १० को बुकिङ लिन थालेको हो । कम्पनीले बुधबार वेइभो मार्फत बी १० बुकिङ खलाइएको जानकारी गराएको हो ।
चीनमा ग्राहकले १५ डलरमा गाडी बुक गर्न सक्ने कम्पनीले जनाएको छ । बुकिङ गर्ने ग्राहकहरूले सीमित अवधिका लागि १० हजार विशेष इनर्जी पोइन्ट्स, एउटा निःशुल्क एक्सटेरियर कलर, र सबैभन्दा पहिले टेस्ट ड्राइभ गर्ने अवसर पाउने छन् ।
कम्पनीले बी १० अझ आधुनिक र प्रविधियुक्त बनाएर ल्याउन लागेको हो । बी १० मा सबैभन्दा ठूलो प्राविधिक अपडेट भनेको यो कार अब ८०० भोल्टको हाइ भोल्टेज आर्किटेक्चरमा आउनेछ ।
यसको प्रत्यक्ष फाइदा चार्जिङ स्पीडमा पर्नेछ । जसले गर्दा मात्र १६ मिनेटमा ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन सक्छ । नयाँ बी १० को रेन्ज पनि बढेर ६१० किलोमिटर पुग्ने कम्पनीको दाबी छ ।
त्यस्तै, नयाँ बी १० का टप भेरियन्टमा उत्कृष्ट स्मार्ट ड्राइभिङ पर्फर्मेन्सका लागि लाइडार प्रविधि जडान गरिएको छ । कम्पनीले नयाँ बी १० मा मोटर पावर समेत बढाउने छ । हालको बी १० मा १३२ किलोवाट र १६० किलोवाटको मोटर रहेको छ । नयाँ बी १० को टप भेरियन्ट अब १८० किलोवाट र १८५ किलोवाटको मोटरमा उपलब्ध हुनेछ । जसको टप स्पीड प्रतिघण्टा १८० किमी हुनेछ ।
कम्पनीले नयाँ बी १० लन्च गर्ने आधिकारिक मिति घोषणा गरेको छैन । तर, बुकिङ खुलाएकाले अर्को महिना भित्र लन्च गर्ने सम्भावना देखिन्छ ।
लीपमोटर बी १० नेपालमा पनि बिक्री हुँदै आएको छ । अपडेटेड बी १० चीनमा बिक्री सुरू हुने बित्तिकै नेपालमा पनि आउने सम्भावना छ ।


