काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अन्त्य भएको भएको घोषणा गरेसँगै विश्व बजारमा कच्चा तेलको मूल्य आकाशिएको हो ।
फेरि अमेरिका–इरान बीच युद्ध चर्किने र आपूर्तिमा अवरोध आउन सक्ने आकलनका कारण तेलको भाउ बढेको हो ।
आयल प्राइस डटकमका अनुसार बुधबार (अपराह्न साढे ५ बजे)सम्म कच्चा तेलको मूल्य औसतमा प्रतिब्यारेल ६ प्रतिशतले बढेको छ ।
यो समाचार तयार पार्दासम्म अमेरिकी बेन्चमार्क डब्लूटीई क्रुड ५.७१ प्रतिशत बढेर प्रतिब्यारेल ७४.५० अमेरिकी डलरमा कारोबार भइरहेको छ । गत साता यसको भाउ प्रतिब्यारेल ६७ डलरसम्म झरेको थियो ।
त्यसैगरी, एशियाली बेन्चमार्क मुर्बान क्रुडको भाउ ६ प्रतिशतले बढेर प्रतिब्यारेल ७९ डलरमा किनबेच भइरहेको छ । विश्व बेन्चमार्क बे्रन्ट क्रुडको मूल्य पनि बढेको छ । यो प्रतिब्यारेल ७३.५० डलरमा कारोबार भइरहेको छ ।
अमेरिका र इजरायलले इरान माथि आक्रमण सुरू गरेसँगै बढ्न थालेको तेलको मूल्य गत अप्रिल ७ मा प्रतिब्यारेल ११३ डलरसम्म पुगेको थियो । त्यसयता क्रमशः ओरालो लागेको मूल्य ६७ डलरसम्म झरेको थियो । फेरि, अमेरिका-इरान युद्ध चर्किएसँग अस्वभाविक रपमा बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेसँगै नेपाल पनि प्रभावित हुनेछ ।


