काठमाडौं । इरानले कच्चा तेल ढुवानी गर्ने विश्वकै प्रमुख होर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गरिएको घोषणा गरेको छ । इरानले अमेरिकी हस्तक्षेप कायम रहेसम्म होर्मुज जलमार्ग बन्द रहने घोषणा गरेको हो ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड (आइआरजीसी) कप्र्सको नौसेनाले विज्ञप्ति जारी गर्दै स्वीकृत समुद्री मार्गभन्दा बाहिर संचालन भएको एक जहाजलाई रोकेर कारबाही गरिएको दाबी गरेको छ ।
समुद्री सुरक्षा जोखिममा पार्ने उद्देश्यले आफ्नो ट्रयाकिङ प्रणाली बन्द गरेको एक जहाजलाई नियन्त्रणमा लिइएको आइआरजीसीले उल्लेख गरेको छ । यद्यपि, उक्त जहाजको परिचय सार्वजनिक गरिएको छैन ।
आइआरजीसीका अनुसार केही जहाजहरूले स्वीकृत मार्गको सट्टा अनधिकृत मार्ग प्रयोग गरेर जलमार्ग पार गर्ने प्रयास गरेका थिए । चेतावनी दिँदा समेत ती जहाजहरूले मार्ग परिवर्तन नगरेपछि कारबाही गरिएको दाबी गरिएको छ ।
आइआरजीसीले इरानविरुद्ध हुने कुनै पनि सैन्य आक्रामक गतिविधिको कडा जवाफ दिइने चेतावनी समेत दिएको छ । ‘यदि थप आक्रमण भए क्षेत्रमा रहेका शत्रु पक्षका नयाँ सैन्य अड्डाहरूलाई पनि निसाना बनाइनेछ,’ आइआरजीसीले विज्ञप्तिमा भनेको छ ।
होर्मुज जलमार्ग एशियाली तथा युरोपेली देशहरुमा तेल ढुवानी गर्ने प्रमुख जलमार्ग हो । यो मार्ग हुँदै विश्वमा दैनिक खपत हुने करिब २० प्रतिशत तेल ढुवानी हुन्छ ।
यद्यपि, गत फेब्रुअरी अन्तिममा अमेरिका इजरायज र इरान युद्ध भएपछि प्रभावित हुँदै आएको छ । जसका कारण कच्चा तेलको भाउ अस्वभाविक बढेर अप्रिलमा प्रतिब्यारेल ११३ अमेरिकी डलरसम्म पुगेको थियो । दुई साता अघि अमेरिका इरान बीच युद्ध गर्ने प्रारम्भिक सम्झौता भएसँगै कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल ६८ डलरसम्म आएको थियो । तर, फेरि अमेरिकाले इरान माथि आक्रमण गरेसँगै तेलको भाउ बढिरहेकोे छ ।


