३० लाख आसपासको ईभीमा नयाँ भिडन्त, बीवाइडी एटो वान कि प्रोटोन इमास फाइभ ?

काठमाडौं । विद्युतीय कारको लागि निकै उर्वर बन्दै गएको नेपालमा बीवाइडी एटो वानलाई सिधा टक्कर दिन नयाँ ह्याचब्याक कार मैदानमा उत्रिएको छ । नेपालमा बिक्री सुरू भएको एक वर्षभन्दा कम समयमा नै १ हजार ३०० युनिट आयात भएको एटो वानलाई टक्कर दिन प्रोटोन इमास फाइभ बजारमा आएको हो ।

यी दुई मोडल बीचको रोचक प्रतिस्पर्धा मूल्य, फिचर र टेक्नोलोजीमा भएको देखिन्छ । दुवै ह्याचब्याक कार दुई भेरियन्टमा उपलब्ध छन् । दुवैमा लगभग उस्तै साइजको ब्याट्री पाउन सकिन्छ । त्यसबाहेक मोटर पावर र टर्कमा भने ठूलो खाडल देखिन्छ ।

मूल्य

बीवाइडीले एटो वानको डाइनामिक भेरियन्टको मूल्य २९ लाख ७५ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ । यसको टप भेरियन्ट प्रिमियमको मूल्य ३३ लाख ८० हजार रुपैयाँ तोकेर साइमेक्स इंकले बिक्री गर्दै आएको छ ।

प्रोटोन इमास फाइभको प्राइम भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ छ । जबकि यसको टप भेरियन्ट प्रिमियमको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू भएको छ ।

मूल्यको आधारमा बीवाइडी एटो वान थोरै सस्तो देखिन्छ । त्यसैले यी दुई ब्राण्डको अन्य फिचरको आधारमा बलियो पक्ष हेरौं ।

एटो वानको मुख्य बलियो पक्ष ब्याट्री

बीवाइडीको सबैभन्दा बलियो पक्षमध्ये एक ब्याट्री प्रविधि हो । कम्पनीले एटो वानमा पनि आफ्नो ब्लेड ब्याट्री प्रविधि प्रयोग गरेको छ । यो मोडल दुई ब्याट्री विकल्पमा उपलब्ध छन् । जसमा ३० किलोवाट आवर र ३८.८८ किलोवाट आवरका ब्याट्री पाउन सकिन्छ ।

सानो ब्याट्रीले डब्लूएलटीपी परीक्षण अनुसार एकपटकको फुल चार्जमा २३० किलोमिटर र ठूलो ब्याट्रीले ३०० किलोमिटरसम्म रेन्ज दिने प्रमाणित गरेको छ ।

स्पोर्टी डिजाइनमा बनेको एटो वान कम्प्याक्ट आकारका कारण सहरी क्षेत्रमा चलाउन र पार्किङ गर्न पनि यो सहज हुने देखिन्छ । ट्राफिक जाम हुने क्षेत्रमा दैनिक आवतजावत गर्ने तथा घरमा पार्किङका लागि धेरै ठाउँ नभएका ग्राहकका लागि एटो वान व्यवहारिक विकल्प बन्न सक्छ ।


बीवाइडीले यसमा भोइस कन्ट्रोल, वायरलेस सफ्टवेयर अपडेट, टचस्क्रीन र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर लगायतका फिचर उपलब्ध गराएको छ । नेपालमा बीवाइडीको स्थापित बजार र बिक्रीपछिको सेवा सञ्जाल पनि एटोवा नका लागि थप बलियो पक्ष हो ।

इमास फाइभको बलियो पक्ष साइज र पावर

प्रोटोन इमास फाइभ भने एटो वानको तुलनामा ठूलो र बढी पावरफुल विकल्पका रूपमा आएको छ । कम्पनीले इमास फाइभको प्राइम भेरियन्टलाई ५८ किलोवाटको मोटर र ३०.१२ किलोवाट आवरको सीएटीएल एलएफपी ब्याट्रीमा ल्याएको छ । यसले डब्लूएलटीपी परीक्षण अनुसार २२५ किलोमिटर रेन्ज दिनेछ ।

त्यस्तै, प्रिमियम भेरियन्टमा ८५ किलोवाटको मोटर र ४०.१६ किलोवाट आवरको ब्याट्री रहेको छ । यसले एकपटकको फुल चार्जमा ३२५ किलोमिटरसम्म रेन्ज दिने डब्लूएलटीपीको परीक्षणले देखाएको छ ।

इमास फाइभले ७ किलोवाटको एसी र ७१ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने जनाइएको छ । डीसी फास्ट चार्जरमार्फत ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब २१ मिनेट लाग्ने कम्पनीको दाबी छ ।


यसको अर्को महत्वपूर्ण पक्ष रियर ह्वील ड्राइभ हो । नेपालमा उपलब्ध अधिकांश कम्प्याक्ट ह्याचब्याक फ्रन्ट ह्वील ड्राइभमा आधारित रहेको अवस्थामा रियर ह्वील ड्राइभका कारण इमास फाइभले फरक ड्राइभिङ अनुभव दिने पक्का छ ।

फिचरमा इमास फाइभ अगाडि

फिचरको हिसाबले पनि इमास फाइभले ग्राहकलाई आकर्षित गर्ने प्रयास गरेको छ । यसमा १४.६ इन्चको एफएचडी इन्फोटेनमेन्ट टचस्क्रिन र ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ ।

यसमा वायरलेस एप्पल कारप्ले, एण्ड्रोइड अटो, प्रिमियम लेदर सिट, प्यानोरामिक भ्यू, पछाडिका यात्रुका लागि एसी भेन्ट, मोबाइल चार्जिङ पोर्ट र ६ वटा स्पिकर लगायतका फिचर उपलब्ध छन् । विद्युतीय उपकरण सञ्चालन गर्न भीटूएल सुविधा पनि दिइएको छ ।

सुरक्षातर्फ ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र विभिन्न एडास फिचर उपलब्ध छन् । अटोनोमस इमर्जेन्सी ब्रेकिङ, फरवार्ड कोलिजन वार्निङ, एडेप्टिभ क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पट डिटेक्सन, लेन डिपार्चर वार्निङ र रियर क्रस ट्राफिक अलर्ट लगायतका सुरक्षा प्रविधि पनि समावेश छन् ।


बीवाइडीले एटो वानलाई फिचर र टेक लोडेड बनाउनुको सट्टा युजर फ्रेण्डली बनाएको देखिन्छ । यसका हरेक फिचरहरू आवश्यकताका आधारमा मात्रै उपलब्ध गराइएको छ । यतिसम्मकी ३६० डिग्री क्यामेरा समेत प्रयोग गरेको छैन । डिजाइनका आधारमा भने निकै स्पोर्टी देखिन्छ ।

कसले जित्ला बजार ?

बीवाइडी एटो वान र प्रोटोन इमास फाइभको प्रतिस्पर्धा केवल मूल्यमा सीमित हुने देखिँदैन । एटो वानको मुख्य बल कम मूल्य, कम्प्याक्ट आकार, ब्लेड ब्याट्री र बीवाइडीको स्थापित ब्राण्ड तथा बिक्रीपछिको सेवा नेटवर्क हो ।

इमास फाइभ भने ठूलो आकार, बढी पावर, रियर ह्वील ड्राइभ, मल्टिलिंक सस्पेन्सन, ठूलो ब्याट्री विकल्प र थप आधुनिक फिचरका कारण ग्राहक आकर्षित गर्ने योजनामा छ ।

सहरी क्षेत्रमा दैनिक प्रयोगका लागि कम बजेटमा कम्प्याक्ट ईभी खोज्ने ग्राहकका लागि एटो वान उपयुक्त विकल्प बन्न सक्छ । तर, केही हजार बढी तिरेर ठूलो आकार, बढी पावर र पारिवारिक प्रयोगमा केन्द्रित ईभी चाहने ग्राहकका लागि इमास फाइभ आकर्षक बन्न सक्ने देखिन्छ ।


Back_to_top