आक्रमक बन्दै प्रोटोन, ४ नयाँ शोरुम र सर्भिस सेन्टर विस्तार

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले शोरुम तथा सर्भिस नेटवर्क विस्तारमा आक्रमक बनेको छ ।

कम्पनीले नेपाली बजारमा नयाँ ह्याचब्याक इमास फाइभ लन्च गरेसँगै ग्राहकको सुविधालाई मध्येनजर गर्दै धमाधम नयाँ शोरुम र सर्भिस सेन्टर खोल्न थालेको हो ।

हाल देशका ७ स्थानमा आफ्नो नेटवर्क विस्तार गरिसकेको कम्पनीले ४ नयाँ शोरुम तथा सर्भिस सेन्टर संचालनमा ल्याउने भएको छ । सोही क्रममा कम्पनीले मंगलबारदेखि भक्तपुरको राधेराधेमा अत्याधुनिक सुविधा सम्पन्न शोरुम तथा सर्भिस सेन्टर संचालनमा ल्याएको छ । भक्तपुरको यो नयाँ शोरुम तथा सर्भिस सेन्टर पूर्वाधार र सेवा गुणस्तरका हिसाबले नेपालकै उत्कृष्ट प्रोटोन शोरुम तथा सर्भिस सेन्टर रहेको कम्पनीको दाबी छ ।

त्यस्तै, आगामी सातादेखि मोफसलका थप तीन शहरहरू वीरगञ्ज, जनकपुर र नेपालगञ्जमा आधिकारिक रूपमा नयाँ शोरुमहरू शुभारम्भ गरिने जगदम्बा मोटर्सले जनाएको छ ।

कम्पनीले यसअघि नक्साल, थापाथली, विराटनगर, चितवन, पोखरा, बुटवल र धनगढी गरी ७ वटा स्थानहरूबाट सेल्स तथा सर्भिस सेवा प्रवाह गर्दै आएको थियो ।

नेपालमा ग्राहक केन्द्रित भई विद्युतीय सवारी ब्राण्डको रूपमा महत्त्वपूर्ण योगदान पुर्याउने लक्ष्यसहित शोरुम र सर्भिस सेन्टर विस्तार योजना सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रतिनिधिका अनुसार प्रोटोन ब्राण्डप्रति ग्राहकहरूको बढ्दो विश्वासलाई ध्यानमा राख्दै देशभरका ग्राहकमाझ प्रोटोनको उत्पादन तथा सेवाको सहजै पहुँच पुर्याउन सेवा शाखा विस्तार अभियान अघि बढाइएको हो ।

जगदम्बा मोटर्सले सन् २०१८ देखि प्रोटोन ब्राण्डका नयाँ सवारी साधन आधिकारिक रूपमा वितरण गर्दै आएको छ । मलेसियाको अग्रणी राष्ट्रिय सवारी साधन ब्राण्ड प्रोटोनले सन् २०१७ देखि जिलीसँगको आफ्नो रणनीतिक साझेदारी मार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै आएको छ ।

हाल प्रोटोन इमास ब्राण्ड मलेसियाको अग्रणी विद्युतीय सवारी साधन ब्रान्डको रूपमा उदाएको छ र यसले नेपाल लगायतका अन्तर्राष्ट्रिय बजारहरूमा आफ्नो पकड मजबुत बनाउँदै लगेको छ ।


Back_to_top