नयाँ मर्सिडिज-मेबाक ‘जीएलएस ६८०’ सार्वजनिक, इन्टेरियर अल्ट्रा लग्जरी

काठमाडौं । मर्सिडिज बेन्जले आफ्नो अल्ट्रा लग्जरी एसयूभी लाइनअपमा नयाँ २०२७ मर्सिडिज-मेबाक ‘जीएलएस ६८०’ थपेको छ । फ्ल्यागसिप एस क्लासमा भन्दा अझ बढी स्पेस र अग्लो एसयूभी तथा रोड प्रेजेन्स चाहने ग्राहकलाई लक्षित गर्दै मेबाकले नयाँ जीएलएस ६८० ल्याएको हो ।

नयाँ मोडल नियमित जीएलएसको व्यापक फेसलिफ्ट भएको केही महिनामै सार्वजनिक गरिएको हो । मेबाख ब्रान्डको पहिचान अनुसार यसको बाहिरी डिजाइनमा प्रशस्त क्रोम फिनिस प्रयोग गरिएको छ । अगाडिको भागमा नयाँ ब्राइट क्रोम सराउन्डसहितको लोअर ग्रिल, ठाडा स्ल्याट भएको ठूलो सेन्ट्रल ग्रिलसहितको नयाँ डिजाइन अगाडि देख्न सकिन्छ ।

ग्रिलको बाहिरी किनारा र मेबाकको ब्रान्डिङमा समेत लाइटिङ प्रयोग गरिएको छ । नयाँ एसयूभीमा ग्राहकले थप शुल्क तिरेर इलुमिनेटेड मर्सिडिज हुड अर्नामेन्ट पनि रोज्न सक्छन् । हेडलाइटको बीच तथा वरिपरि रोज गोल्ड एक्सेन्ट प्रयोग गरिएको छ । स्टार आकारका एलईडी डेटाइम रनिङ लाइटले यसको फ्रन्ट डिजाइनलाई थप आकर्षक देखाउँछ ।

पछाडिको भागमा पनि नयाँ टेलगेट र क्रोम स्टार डिजाइनसहितको टेललाइट दिइएको छ । त्यसैले अगाडिदेखि पछाडिसम्म मेबाकको विशिष्ट लक्जरी पहिचानले निरन्तरता पाएको छ ।

नयाँ जीएलएस ६८०मा स्ट्यान्डर्ड रूपमा २२ इन्चका एलोय ह्वील दिइएको छ । ग्राहकले ह्वीलमा २३ इन्चको विकल्प पनि पाउने छन् । जुन ह्वील क्रोम फिनिसमा उपलब्ध हुनेछ ।

अधिक स्पोर्टी र कम क्रोम चाहने ग्राहकका लागि नाइट सिरिज डिजाइन प्याकेज र एक्सटेरियर डिजाइन प्याकेज पनि उपलब्ध हुनेछ । यसमा डार्क क्रोम एलिमेन्ट, कालो एनोडाइज्ड एल्युमिनियम रनिङ बोर्ड तथा डार्क फिनिसका ठूला ह्वील प्रयोग गरिन्छ ।

जीएलएस ६८०को सबैभन्दा ठूलो आकर्षण यसको विलासी इन्टेरियर हो । यसमा नयाँ पुस्ताको एमबीयूएक्स इन्फोटेनमेन्ट सिस्टमसहितको सुपर स्क्रीन छ । एउटै ग्लास प्यानलभित्र तीनवटा १२.३ इन्चका डिस्प्ले राखिएका छन् ।

पछाडिका यात्रुका लागि पनि दुईवटा ११.६ इन्चका डिस्प्ले उपलब्ध छन् । यसले विशेषगरी चालकसहित यात्रा गर्ने उच्च तहका व्यवसायी तथा भीआईपी यात्रुलाई लक्षित गरेको देखिन्छ ।

सिटमा नयाँ नापा लेदर प्रयोग गरिएको छ । जसमा बिच ब्राउन र म्याकियाटो बेज जस्ता कलर विकल्पको रुपमा उपलब्ध छन् । पछाडिको भागमा दुईवटा बोतल होल्डरसहितको फ्रिजसमेत राखिएको छ । जहाँ यात्राका क्रममा शैम्पेनलगायतका पेय पदार्थ चिसो राख्न सकिन्छ ।

केबिनलाई अझ शान्त बनाउन इन्जिन बल्कहेड र ट्रान्समिसन टनेलमा नयाँ इन्सुलेसन सामग्री प्रयोग गरिएको छ। यसले बाहिरी तथा इन्जिनबाट आउने आवाजलाई कम गर्दै थप शान्त र आरामदायी यात्रा अनुभव दिने कम्पनीको दाबी छ ।

साउन्डका लागि १५ स्पिकरसहितको बर्मेस्टर सराउन्ड साउन्ड सिस्टम स्ट्यान्डर्ड रूपमा उपलब्ध छ । यसमा ७१० वाटको एम्प्लिफायर प्रयोग गरिएको छ।

नयाँ मेबाक जीएलएस ६८०को अर्को मुख्य आकर्षण यसको पावरट्रेन हो । यसमा नयाँ ४.० लिटर ट्विन टर्बोचार्ज्ड भी८ इन्जिन प्रयोग गरिएको छ । फ्ल्याट-प्लेन क्र्याङ्कसहितको यो इन्जिनमा ४८ भोल्ट माइल्ड हाइब्रिड सिस्टम जोडिएको छ ।

उक्त इन्जिनले ६०३ एचपी पावर र ८५० एनएम टर्क उत्पादन गर्छ । यसको इन्टिग्रेटेड स्टार्टर जेनेरेटरले थप २३ एचपी पावर उपलब्ध गराउँछ । यसलाई ९-स्पिड अटोमेटिक गियरबक्ससँग जोडिएको छ । यो अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध एसयूभी हो ।

पावरसँगै ड्राइभिङ अनुभव सुधार गर्न जीएलएस ६८०मा परिमार्जित स्टेयरिङ सिस्टम प्रयोग गरिएको छ । यसले गाडीलाई अझ चुस्त र सटीक बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, एयर सस्पेन्सन प्रणालीमा पनि सुधार गरिएको छ । ठूलो र विलासी एसयूभी भए पनि आरामदायी र स्थिर ड्राइभिङ अनुभव प्रदान गर्ने उद्देश्यले सस्पेन्सनलाई पुनः इन्जिनियर गरिएको हो ।


Back_to_top