काठमाडौं । भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाजले इलेक्ट्रीक मोटरसाइकल उत्पादन गर्ने भएको छ । बजाज अटोले आगामी आर्थिक वर्ष २०२८ सम्ममा आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गर्ने घोषणा गरेको हो ।
हाल चेतक इलेक्ट्रीक स्कुटर उत्पादन गर्दै आएको कम्पनीले आफ्नो ईभी पोर्टफोलियोलाई विस्तार गर्ने योजना अन्तर्गत नयाँ इलेक्ट्रीक मोटरसाइकल ल्याउने तयारी गरेको हो ।
कम्पनीको सन् २०२६ को पहिलो त्रैमासिक (अप्रिल–जुन)को वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा चेतकको बढ्दो मागलाई सम्बोधन गर्दै यसको उत्पादन क्षमता विस्तारसँगै इलेक्ट्रीक मोटरसाइकल पनि निर्माण भइरहेको जनाएको हो ।
कम्पनीका अनुसार नयाँ इलेक्ट्रीक मोटरसाइकलको उत्पादन विकास प्रक्रिया राम्रो गतिमा अघि बढिरहेको छ र आर्थिक वर्ष २०२८ मा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ ।
कम्पनीका अनुसार बजाजको पहिलो इलेक्ट्रीक मोटरसाइकल भारतमाभन्दा पहिले अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुनेछ ।
कम्पनीले नयाँ ईभी मोटरसाइकलको डिजाइन, ब्याट्री क्षमता, वा प्राविधिक अन्य कुनै विवरण सार्वजनिक गरेको छैन । भारतीय मिडिया रिपोर्टअनुसार बजाजको नयाँ ईभी मोटरसाइकल पेट्रोल १५० सीसी क्षमता बराबरको हुने बताइएको छ । यसलाई उच्च प्रदर्शनभन्दा पनि व्यावहारिक प्रयोगलाई केन्द्रमा राखेर विकास गरिने र दैनिक प्रयोग गर्ने ग्राहकलाई लक्षित गरी ल्याइने सम्भावना छ ।
मोटरसाइकलको प्रदर्शन, कम सञ्चालन खर्च, सहज राइडिङ अनुभव, पर्याप्त रेन्ज र आरामदायी एर्गोनोमिक्स डिजाइनमा उपलब्ध हुने अनुमान गरिएको छ ।
बजाजले विद्युतीय दुईपाङ्ग्रे बजारमा चेतकमार्फत प्रवेश गरेको थियो । भारतीय बजारमा चेतक अहिले सर्वाधिक बिक्री हुने इलेक्ट्रीक स्कुटरमध्ये एक बन्न सफल भएको छ । अर्कोतर्फ कम्पनीले सार्वजनिक गरेको फ्रिडम सीएनजी मोटरसाइकलले अपेक्षाअनुसार सफलता हासिल गर्न नसके पनि अब बजाजले इलेक्ट्रीक मोटरसाइकल सेग्मेन्टमा नयाँ सम्भावना देखेर निर्माण काम थालेको बताएको छ ।
साथै, हाल मासिक ५० हजार युनिट उत्पादन भइरहेको चेतकको उत्पादन क्षमता आगामी केही महिनाभित्र ६० हजार युनिट पुर्याइने पनि कम्पनीले बताएको छ ।


