काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा दुईपाँग्रे सवारी साधन बजार गुलजार बनेको छ । कोभिडपछि सुस्ताएको दुईपाँग्रे सवारी (मोटरसाइकल/स्कुटर)को बिक्री गत आवमा उल्लेख्य रूपमा बढेको हो ।
भन्सार विभागले बिहीबार सार्वजनिक गरेको गत आवको तथ्यांक अनुसार दुईपाँग्रे सवारी आयात ३० प्रतिशतले बढेको हो ।
विभागका अनुसार गत आवमा कुल २ लाख ७७ हजार २९१ युनिट मोटरसाइकल र स्कुटर (मोपेड बाहेक) आयात भएको हो । यो संख्या अनएसेम्बल र तयारी दुवैको तथ्यांक हो ।
गत आवमा ४ वर्ष यताकै धेरै मोटरसाइकल/स्कुटर आयात भएको हो । यसअघि आव २०७८/७९ मा २ लाख ८२ हजार ९९ युनिट आयात भएको थियो । त्यसयता मोटरसाइकल/स्कुटर घट्दो क्रममा थियो ।
अघिल्लो आव २०८१/८२ को तुलनामा गत आवमा दुईपाँग्रे सवारी आयात ६३ हजार ९९६ युनिट धेरै हो । अघिल्लो आवमा २ लाख १३ हजार २९५ युनिट मोटरसाइकल र स्कुटर आयात भएको थियो ।
विभागका अनुसार गत आवमा आयात भएको दुईपाँग्रे सवारीमध्ये ८२.१६ प्रतिशत अनएसेम्बल रहेका छन् । गत आवमा २ लाख २७ हजार ८३४ युनिट अनएसेम्बल दुईपाँग्रे सवारी आयात भएको हो ।
हाल नेपालमा आधार दर्जन बढी ब्राण्डका दुइपाँग्रे सवारी उत्पादन हुन्छ । रोयल इनफिल्ड, बजाज, टीभीएस, यामाहा, हिरो, होण्डा, सीएफमोटो लगायत ब्राण्डका मोटरसाइकल/स्कुटर नेपालमै एसेम्बल हुन्छन् ।
गत आवमा ४९ हजार ४५७ युनिट तयारी अवस्थाका मोटरसाइकल र स्कुटर आयात भएको विभागको तथ्यांक छ ।
गत आवमा आयात भएका दुईपाँग्रे सवारी मध्ये २ लाख ५१ हजार १७६ युनिट पेट्रोल र २६ हजार ११५ युनिट विद्युतीय रहेका छन् ।
गत आवमा कुल ३६ अर्ब १ करोड रुपैयाँ बराबरको मोटरसाइकल र स्कुटर आयात भएको हो । जसबाट सरकारले ३२ अर्ब ९७ करोड रुपैयाँ राजस्व पाएको छ ।


