ईभीको जस्तै रेन्ज र पेट्रोलबाट पनि चल्ने एसयूभी नेपाल ल्याउँदै एमजी

काठमाडौं । एमजी एचएस प्लगइन हाइब्रिड कार नेपाल आउने भएको छ । आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एमजी एचएस हाइब्रिड सार्वजनिक हुने भएको हो ।

एमजी एचएस प्लगइन हाइब्रिड एसयूभीको पर्फमेन्स, विद्युतीय रेन्ज, व्यावहारिकता र मूल्यको सन्तुलन मिलेको कारण अन्तर्राष्ट्रिय बजारमा यसले सफलता पाएको हो । नेपाली बजारमा पनि यो मोडल सफल हुने अनुमान छ ।

नेपालमा एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले यसअघि पेट्रोलबाट चल्ने एचएस एसयूभी राम्रै संख्यामा बिक्री गरेको थियो । पछि ईभीको उच्च माग हुँदा पेट्रोल एसयूभीको बिक्री घटेको हो ।

हाइब्रिड एचएस एसयूभीमा १.५ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनसँगै १३५ किलोवाटको इलेक्ट्रीक मोटर जोडिएको छ । दुवैको संयुक्त रूपमा २९५ बीएचपी रहने छ ।

पावरफुल इन्जिन भएको कारण एचएस हाइब्रिड एसयूभीले ० देखि १०० किलोमिटरको स्पीड केबल ६.१ सेकेण्डमै भेट्टाउने छ । ब्याट्री र इलेक्ट्रीक मोटर प्रयोग भएको कारण चलाउन पनि निकै सहज लाग्छ ।

एमजी एचएस प्लगइन हाइब्रिड एसयूभीको सबैभन्दा ठूलो आकर्षण यसको विद्युतीय रेन्ज हो । कम्पनीले यसको आधिकारिक इलेक्ट्रीक रेन्ज १२० किलोमिटर दाबी गरेको छ । विभिन्न परीक्षणमा ११० किलोमिटर माथि प्योर ईभी रेन्ज पाइएको छ ।

रोचक कुरा के छ भने एमजी एचएस हाइब्रिड मोडलले प्रति किलोमिटर कार्बन उत्सर्जन केबल १२ ग्राम मात्रै गर्छ । औषत पेट्रोल कारले १०० किलोमिटरको यात्रा गर्दा १७ केजी कार्बन उत्सर्जन गर्छ । त्यसैले धेरै देशले एचएस हाइब्रिडलाई ईभीको श्रेणीमा राखेर ५ प्रतिशत कर छुट प्रदान गरेका छन् ।

एमजी एचएसको अर्को बलियो पक्ष यसको फराकिलो इन्टेरियर हो । यसको ५०७ लिटर क्षमताको बुट स्पेस सेग्मेन्टकै ठूलो मानिन्छ ।

ड्यासबोर्डमा दुईवटा १२.३ इन्चका स्क्रीन दिइएका छन् । जसको डिस्प्ले स्पष्ट र राम्रोसँग एकीकृत गरिएको छ । सिटहरू पनि निकै क्लिन लाग्छन् ।

१९ इन्चको एलोय ह्वील, हिटेड लेदरेट सिट, ३६० डिग्री क्यामेरा र किलेस इन्ट्रीजस्ता सुविधा उपलब्ध छन् । भेन्टिलेटेड फ्रन्ट सिट, हेडअप डिस्प्ले र वायरलेस स्मार्टफोन चार्जिङ पनि उपलब्ध हुनेछन् ।


Back_to_top