काठमाडौं । चीनको उद्योग नियामकले स्मार्ट, कनेक्टेड तथा न्यू इनर्जी भेहिकलको लागि १५औँ पञ्चवर्षीय योजना तयार पार्ने भएको छ । यो समाचार बाहिर आएसँगै बुधबार हङकङमा सूचीकृत चिनियाँ अटोमोबाइल कम्पनीहरूको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको हो ।
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत उपकरण उद्योग विभागका प्रमुख गुओ शौगाङले जुलाई २७ मा आयोजित एक कार्यक्रममा सरकारले स्मार्ट तथा कनेक्टेड एनईभी उद्योगका लागि १५औँ पञ्चवर्षीय योजनाको मस्यौदा तयार पार्ने काम तीव्र भइरहेको बताएका थिए ।
उनको भनाइ सार्वजनिक भएपछि विद्युतीय सवारीसाधन निर्माता कम्पनीहरूको सेयरमा सकारात्मक प्रभाव परेको हो । बुधबार भएको कारोबारमा हङकङ स्टक एक्सचेन्जमा नियोको सेयर ५.०८ प्रतिशत, एक्सपेङको ४.८२ प्रतिशत र बीवाइडीको ४.६२ प्रतिशतले बढेको थियो ।
चिनियाँ कम्पनी लि अटोको सेयर एक समय ११.०१ प्रतिशतसम्म बढेर एक महिनाभन्दा बढी समययताकै उच्च विन्दुमा पुगेको थियो ।
त्यस्तै, जिली अटोको सेयर ६.९ प्रतिशत, चेरीको ७.७९ प्रतिशत र जीएसी ग्रुपको ७.२७ प्रतिशतले वृद्धि भएको थियो । साओमी, लिपमोटर र सेरेसको सेयर पनि क्रमशः ७.५९, ७.११ र ६.६३ प्रतिशतले बढेको थियो ।
नयाँ योजना अन्तर्गत चीनले स्मार्ट तथा कनेक्टेड एनईभीका लागि महत्वपूर्ण प्रविधिको विकासलाई तीव्र बनाउने, नयाँ मापदण्ड निर्माण गर्ने तथा अन्तर्राष्ट्रिय मापदण्डसँग समन्वय गर्ने योजना अघि सारेको छ । साथै, ‘सवारी-सडक-क्लाउड एकीकरण’ प्रविधिको परीक्षण, उत्पादन अनुमति र सडक संचालन सम्बन्धी कार्यक्रमलाई पनि थप विस्तार गर्ने जनाएको छ ।
चीनमा लेभल-२ एडास फिचर भएका यात्रुवाहक सवारी साधनको बजार प्रवेश दर ७०.५ प्रतिशत पुगेको छ । त्यस्तै, नेभिगेसन-अन-अटोपाइलट (एनओए) सुविधा भएका सवारी साधनको हिस्सा ३४.२ प्रतिशत पुगेको छ ।


