चितवनमा देशकै ठूलो इन्धन डिपो निर्माण सुरू

काठमाडौं । चितवनकाे लोथरमा देशकै हालसम्मकै ठूलो पेट्रोलियम भण्डारण गृह निर्माण सुरू गरिएको छ । नेपाल आयल निगमले लाथेरमा झण्डै ९२ हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण अघि बढाएको हो ।

इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत डिपो निर्माण सुरू गरिएकाे हो । नेपाल र भारत बीच २०८१ असोज १७ गते अमलेखगञ्जदेखि चितवनसम्म पाइपलाइन विस्तार गर्ने र लोथरमा भण्डारण ट्यांक बनाउने सम्झौता भएको छ । सोही अनुसार डिपो निर्माणको पहिलो चरणको काम अघि बढाइएको हो ।

निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बुधबार राप्ती नगरपालिकास्थित लोथरमा भूमि पूजा गर्दै डिपो निर्माणको पहिलो चरणको कामको शिलान्यास गरेका हुन् ।

निगमका अनुसार पहिलो चरणको काम अन्तर्गत २५ बिघा ७ धुर क्षेत्रमा फैलिएको जग्गालाई निर्माण योग्य बनाइने छ । जसमा जग्गा सम्याउने, आवश्यकता अनुसार फिटसम्म माटो भर्ने, चारैतिर ११ फिट अग्लो कंक्रिट पर्खाल लगाउने लगायत काम गरिने छ । यसको ठेक्का मोतीधन–डीएस जेभीले ७९ करोड ५४ लाख रुपैयाँमा पाएको छ । कम्पनीले १ वर्ष भित्र काम सकिसक्नुपर्नेछ ।

पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा डिपो निर्माणको काम सुरू हुनेछ । जुन काम इण्डियन आयल कर्पोरेसनले आफ्नै प्राविधिक निगरानीमा ठेक्कामार्फत गर्नेछ । नेपाल जग्गा तयार गरी हस्तानतरण गरेपछि डिपो निर्माणको काम सुरू हुनेछ ।

आयोजना प्रमुख समेत रहेका निगमका उपनिर्देशक प्रदीप यादवले तोकिएको समयभन्दा अगावै जग्गा तयार पारेर डिपो निर्माणका लागि इण्डियन आयल कर्पोरेसनलाई हस्ताणतरण गरिने बताए । उनले आगामी ६ देखि ९ महिनाभित्रै जग्गाको सम्पूर्ण पूर्वतयारी सकेर आईओसीलाई जिम्मा दिने लक्ष्य राखिएको बताए ।

‘हामीले निर्माण कम्पनीलाई कामलाई तीव्रता दिन निर्देशन दिइसकेका छौं । ६ देखि ९ महिनाभित्रै जग्गाको सम्पूर्ण पूर्वतयारी सकेर आईओसीलाई जिम्मा दिने लक्ष्य छ,’ उनले भने ।

उता, आइओसीले पनि आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी डिपो निर्माण गर्न ग्लोबल टेन्डर प्रक्रिया अघि बढाइसकेको निगमले जजानकारी दिएको छ ।

लोथरमा ९१ हजार ९०० किलोलिटर क्षमताको आधुनिक पेट्रोलियम पद्धार्थ भण्डार गृह निर्माण गरिने छ । जसमा ४६ हजार ५०० किलोलिटर डिजेल, ३३ हजार किलोलिटर पेट्रोल, १० हजार ८०० किलोलिटर हवाई इन्धन र १ हजार ६०० किलोलिटर मट्टीतेल भण्डारण हुनेछ ।

डिजेलका लागि १५ हजार ५०० किलोलिटर, हवाई इन्धनका लागि ३ हजार ६० किलोलिटर र पेट्रोलका लागि ११ हजार किलोलिटर क्षमताका ३/३ वटा वटा भण्डारण टयांकी निर्माण गरिनेछ छ । त्यस्तै, मट्टितेलका लागि ८०० किलोलिटर क्षमताका दुई वटा ट्यांक निर्माण गरिने छ । भण्डार गृह निर्माणको अनुमानित लागत ९ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटर पेट्रोलियम पाइपलाइन निर्माण सुरू भइसकेको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै समानान्तर हुने गरी ६२ किलोमिटर लामो १०.७५ इन्चको पाइपलाइन बिछ्याउने काम भइरहेको छ । जसबाट प्रतिघण्टा २७३ किलोलिटरको गतिमा पेट्रोलियम पद्धार्थ ढुवानी गर्न सकिनेछ । यसको लागत ४ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।

पाइप लाइन र इन्धन भण्डारण डिपो निर्माण सम्पन्न भइसकेपछि बागमती सहित आसपासका प्रदेशको इन्धन मागलाई लामो समयसम्म धान्ने, ढुवानी खर्च जोगिने, चुहावट र मिसावट पूर्णरूपमा अन्त्य विश्वास छ ।


Back_to_top