काठमाडौं । जापानी अटोमोबाइल कम्पनी टोयोटाले आफ्नो चर्चित एसयूभी फर्चुनरको ‘फ्लेक्स फ्युएल कन्सेप्ट’ भर्सन सार्वजनिक गरेको छ।
कम्पनीले हालै इन्डोनेसियामा आयोजित ‘इन्डोनेसिया मोटर शो २०२६’ मा शतप्रतिशत बायोइथानोलबाट चल्ने नयाँ कन्सेप्ट गाडी देखाएको हो ।
टोयोटाले फ्लेक्स फ्युएल भर्सनसँगै ‘बी ५० बायोडिजेल’ प्रविधिमा आधारित अर्को फर्चुनर पनि प्रदर्शनमा राखेको छ । यी दुवै मोडलहरू कन्सेप्ट गाडी हुन् । अहिलेसम्म ठूलो मात्रामा उत्पादनमा गएका छैनन्।
टोयोटा फर्चुनर फ्लेक्स फ्युलमा सबैभन्दा ठूलो परिवर्तन बोनस (इन्जिन कभर) मुनि गरिएको छ । यो एसयूभीमा २.७ लिटर पेट्रोल इन्जिनको प्रयोग गरिने छ । जसलाई १०० प्रतशत बायोइथानोल (ई १००) मा चल्न सक्ने गरी परिमार्जन गरिएको छ।
नयाँ इन्धनलाई सपोर्ट गर्नका लागि टोयोटाले इन्धन लाइनहरू, होस पाइप, इन्जिन हेड र अन्य सम्बन्धित भागहरू सहित धेरै इन्जिन अवयवहरू अपग्रेड गरेको छ। यो इन्जिनले १६१ ब्रेक हर्षपावर र २४३ न्युटन मिटर टर्क उत्पन्न गर्छ । नयाँ पावरट्रेन बाहेक समग्र डिजाइन र सुविधाहरू सामान्य फर्चुनर जस्तै छन् ।
त्यस्तै, टोयोटाले फर्चुनरको बी ५० बायोडिजेल भर्सन अल ह्वील ड्राइभ सिस्टमका साथ परिचित २.८ लिटर डिजेल इन्जिनको प्रयोगलाई निरन्तरता दिएको छ। यसले २०१ ब्रेक हर्ष पावर र ५०० न्युटन मिटर टर्क उत्पन्न गर्छ। यसमा ४८ भोल्टको माइल्ड हाइब्रिड सिस्टम पनि छ । जसले इन्धन दक्षतामा सुधार गर्ने र उत्सर्जन घटाउने अपेक्षा गरिएको छ।
टोयोटाले दुवै कन्सेप्टका लागि उत्पादन योजना वा लन्चको समय तालिका घोषणा गरेको छैन । यद्यपि, कम्पनीले दुवै गाडीको परीक्षण जारी राखेको छ। भारतले सफा इन्धनको प्रयोगलाई प्रोत्साहन गरिरहेको र इथानोल पूर्वाधारको विस्तार गरिरहेको हुनाले, टोयोटा फर्चुनर फ्लेक्स फ्युएल बजारका लागि उपयुक्त विकल्प हुन सक्छ। जारी पाइलट प्रोजेक्टहरूले सकारात्मक नतिजा दिएमा भारतमा यसको लन्च सम्भव रहेको रिपोर्टहरूले संकेत गरेका छन्।
टोयोटाले केवल पूर्ण विद्युतीय गाडीमा मात्र सीमित नभई अन्य वातावरणमैत्री वैकल्पिक इन्धन प्रविधिहरूमा पनि लगानी बढाउँदै लगेको छ। कम्पनीले यसअघि नै स्ट्रङ हाइब्रिड मोडलहरू सफलताका साथ बिक्री गरिरहेको छ भने हाइड्रोजन र फ्लेक्स फ्युएल प्रविधिमा पनि अनुसन्धान गरिरहेको छ।
यदि यो फ्लेक्स फ्युएल भर्सन व्यावसायिक उत्पादनमा आएमा, फर्चुनरको साविककै लुक्स र पावरमा ग्राहकहरूले वातावरणीय हिसाबले सफा र हरित विकल्प पाउनेछन्।


